मलंगवा, साउन ०५ – जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा रहेकी एक महिलाले आत्महत्या गरेकी छन् ।
आत्महत्या गर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नं ८ बस्ने ४० वर्षीय हजरत खातुन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । खातुनले सलको पासो लगाई शौचालयको ढोकामा झुण्डिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख डिएपी दिपेन्द्र पंजियार थारुले बताए । प्रनाउ थारुका अनुसार पासो काटेर तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याएर उपचार गर्दागर्दै राती ११ बजे चिकित्सकले मृत घोषित गरेका थिए ।
थूनुवा महिलाले सौचालय भित्र पसेर सलको पासो लगाएकाले ड्यूटीमा रहेकी सुरक्षाकर्मीले समेत आत्महत्या गरेको भेउ पाउन नसकेको जिल्ला प्रहरी कार्यालयको भनाई छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सौचालय भित्रबाट निकैबेर बाहिर ननिस्केपछि शंका लागेर हेर्दा खातुनलाई सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारिएको हो । हाल मृतक महिलाको शव प्रादेशिक अस्पताल मलंगवामै राखिएको र पोष्टमार्टमको तयारी भईरहेको प्रनाउ थारुले जानकारी दिए । प्रनाउ थारुका अनुसार मृतकका श्रीमानलाई समेत सम्पर्कमा आईसकेका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रनाउ थारुले जानकारी दिए ।
अपराध अनुसन्धान सम्बन्धी दुईहप्ते तालिममा चिन गएर दुई दिनअघि मात्र काठमाडौं आईपुगेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदी पनि काठमाडौंबाट शुक्रबार नै सर्लाही आउँदैछन् । केहीदिन पछि आउने तयारी गरेको भएपनि थूनुवा महिलाले आत्महत्या गरेको घटना पश्चात प्रउ सुबेदी शुक्रबार नै काठमाडौंबाट सर्लाहीतर्फ आउन लागेका हुन् ।
साउन १ गते मलंगवाको झिलमिलिया माई नजिक श्रोत नखुलेको ५ लाख ४ हजार नेपाली रुपैयाँ र ५ सय ७७ ग्राम चाँदीसहित सशस्त्र प्रहरीले खातुन र चक्रघट्टा–८ बस्ने राम रायलाई पकाउ गरी मलंगवा भन्सार कार्यालय सर्लाहीमा बुझाएको थियो । भन्सार कार्यालयले विहिबार खातुनलाई ३ लाख ३९ हजार धरौटी तोकेको र उक्त धरौटी बुझाउन नसक्दा भन्सारले खातुनलाई पुनः जिल्ला प्रहरी कार्यालयको हिरासतमा पठाएको थियो ।
(नोट – पूनः सम्पादन गरिएको)