लालबन्दी – सर्लाहीको लालबन्दीमा बाल भित्तेपत्रिका सम्वन्धी ५ दिने तालिम बुधबारबाट सुरु भएको छ ।
बागमती सेवा समाज नेपालले बाल संरक्षण तथा बाल स्पोन्सरशीप परियोजना अन्तर्गत वल्र्ड भिजनसँग समन्वय गरी हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाका बालबालिकालाई बाल भित्ते पत्रिका सम्वन्धी तालिम प्रदान गर्न सुरु गरेको हो । तालिममा पर्सा गाउँपालिकाको पब्लिक मावि र नेपाल राष्ट्रिय बैजु जनता माविका बालबालिका तथा हरिपूर्वामा रहेको केश्वर गरिब जनता मावि र बसन्तपुर गाउँ हरिपूर्वा ८ बाट समुदाय स्तरका बालबालिका सहभागी भएका छन् ।
संस्थाले बालबालिकाको क्षेत्रमा यि दुई पालिकामा गरेका गतिवधिलाई बालबालिकामार्फत बाल भित्ते पत्रिका प्रकाशित गर्ने उद्देश्यले तालिम प्रदान गरेको हो । सहभागी बालबालिकालाई योग शर्माले तालिम दिने आयोजकले जनायो ।
बागमती सेवा समाजका अध्यक्ष भरतकुमार कार्कीको अध्यक्षता तथा पर्सा गाउँपालिकाकी उपाध्यक्ष नुतन देवीको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।
यस्तै, बागमती सेवा समाजले लालबन्दीमै आयोजना गरेको बालमैत्री स्थानीय शासन सम्वन्धी ३ दिने तालिमको बुधबार समापन गरिएको छ ।
पर्सा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न विषयगत शाखाका प्रमुखलगायतलाई आयोजना गरेको तालिमको आज समापन गरिएको हो । तालिमको बागमती सेवा समाजका अध्यक्ष भरतकुमार कार्कीको अध्यक्षतामा समापन गरिएको संस्थाले जनाएको छ ।
सहभागीले कार्यक्रममै बालबालिकाको क्षेत्रमा काम गर्न वडा स्तरीय कार्य योजना बनाएका छन् ।