हरिवन – सर्लाहीको हरिवन नगरपालिकामा आर्थिक वर्ष २०७९/०८० मा भए गरेका कामको आइतबार सार्वजनिक सुनुवाई गरिएको छ ।
नगरपालिकाले नेपाल पत्रकार महासंघ सर्लाही शाखासँग समन्वय गरी हरिवन ११ स्थित सम्राट होटलको सभा हलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा सहभागीले नगरपालिकाबाट कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, लक्षित वर्ग, स्वरोजगारलगायतको क्षेत्रमा जिज्ञाशा राखेका थिए ।
अधिकांशबाट नगरपालिकाको बजेट किन पास हुन नसकेको हो ? भनी प्रश्न उठेको थियो । सहभागीले राखेको जिज्ञाशाको जवाफ प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, उपमेयर हरिमाया घलान, मेयर रमेश बुढाथोकी (कमल) लगायत भएर दिए ।

मेयर बुढाथोकीले जतिसक्दो चाँडो बजेट ल्याउने तयारीमा लागेको बताए । यस्तै, विभिन्न शाखाका प्रमुख र ११ वटै वडाका वडाध्यक्षले आ–आफ्नो शाखा र वडामा भएगरेका कामका बारेमा जानकारी गराए ।
नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीले स्वागत गरेको कार्यक्रमको संचालन पत्रकार जनार्जन खत्रीले गरेका थिए ।