logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मिटरब्याजी उजुरी : ५० प्रतिसत उजुरीमा छलफल हुँदा २० प्रतिसत फछ्यौट


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा मिटरब्याजीको आरोप लगाई परेका १ हजार ९ सय २० उजुरीमध्ये अहिलेसम्म ५० प्रतिसत अर्थात् ९६८ उजुरीमाथि छलफल भएको छ ।

छलफल भएकामध्ये ३९१ उजुरीको फछ्यौट अर्थात् उजुरी दिने र उजुरी परेको व्यक्तिबीच मिलापत्र नै भएको छ । झण्डै एक महिनादेखि मिटरब्याजको सम्वन्धमा उजुरी दिने व्यक्तिहरु र उजुरी परेको व्यक्तिबीच जिल्ला प्रशासन कार्यालय मलंगवामा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको रोहबरमा छलफल जारी रहेको हो ।

कार्यालयले आइतबार साँझ उपलब्ध गराएको विवरण अनुसार कूल उजुरी परेकोमध्ये ५० प्रतिसत उजुरीमाथि पहिलो चरण छलफल सकेर २० प्रतिसतमा मिलापत्र गराइएको हो । मिलापत्र हुन नसकेको उजुरीका बारेमा थप छलफल तथा आवश्यक कानूनी प्रक्रिया अघि बढेको छ ।

आफ्नो पालो आएपछि पीडित भनिएका व्यक्तिहरु छलफलका लागि जिल्ला प्रशासन अर्थात् सीडिओ कार्यालय पुगिरहेका छन् । मिलापत्रकै क्रममा साहुबाट ९ बिघा ९ कठ्ठा २.३१ धुर जग्गा फिर्ता गराइएको कार्यालयले दावी गरेको छ ।

अन्य ठाउँको तुलनामा सर्लाहीमा मिटरब्याजी धेरै नै छन् । यहाँ उजुरी परेकाबाहेक पनि अझ धेरै संख्यामा मिटरब्याजी रहेको अनुमान गरिन्छ ।

मिटरब्याज अर्थात् अनुचित लेनदेनको मार खेप्न बाध्य सर्वसाधारणले बारम्बार आन्दोलन गरेपछि सरकारले आयोग नै बनाएर अहिले यसको छानबिन गरिरहेको छ ।