logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पानी परेपछि तीव्र रुपमा रोपाइँ


  • उज्यालो अभियान

लालबन्दी – पर्याप्त वर्षा भएपछि सर्लाहीमा फेरि धमाधम धान रोपाइँ हुन थालेको छ ।

रोपाइँका लागि खेतका फाँटमा ट्याक्टर र कामदार बाक्लो मात्रामा देखिन्छन् । यहाँ पानी पर्न रोकिँदा धान रोपाइँ ठप्प जस्तै भएको थियो । हिजोबाट फेरि पानी पर्न सुरु भएपछि चारैतिर तीव्र गतिमा रोपाइँ सूचारु भएको हो ।

यस क्षेत्रमा हिजो बेलुकापख चट्याङसहित भारी वर्षा भएको थियो । जम्ने गरी पानी परेपछि २० वटै पालिकामा रोपाइँले तीव्रता पाएको हाम्रा संवाददाताले जनाएका छन् ।

रोपिसकेको रोपोलाई पनि हिजोको पानीले फाइदा पुगेको छ । बागमती, लखन्देही, कालिन्जोर, फूलजोर, बाँकेलगायतका खोलामा हिजोदेखि बाढी आइरहेको छ । यो पानीले उखु बाली, सुत्ला च्याप्न लागेको मकैलगायतका अन्य हिउँदे बालीलाई फाइदा पुगेको छ ।

हरियो तरकारी बालीमा भने पानी जमेर क्षति गरेको किसानले बताएका छन् । पानी पर्दा हरियो तरकारी धेरै नै नष्ट हुने हुँदा यहाँको लालबन्दी, हरिवन, मलंगवालगायतका हाटबजारमा तरकारीको मूल्य दोब्बरले बढ्दा उपभोक्ता मारमा परेका छन् ।