लालबन्दी ३ स्थित जब्दीमा रोपाइँका लागि आलिभित्ता गर्दै गरेका एक मजदुर । (तस्बीर : जनक कार्की)
लालबन्दी – सर्लाहीमा पानी पर्नै नसक्दा जनजीवन अस्तब्यस्त बनिरहेको छ ।
गर्मीले आम मानिस छटपटिएर बस्न बाध्य छन् । गए राति यस क्षेत्रमा अत्यधिक गर्मी महसुस गरियो । त्यहीबेला मध्यरातमा जिल्लाभर नै विद्युत् अवरुद्ध भएको थियो ।
बजार क्षेत्रमा केही घण्टापछि बत्ती सूचारु भएपनि अन्य क्षेत्रमा रातभर जसो नै बत्ती नआएको स्थानीयले बताएका छन् । राति आकाश गड्यागुडुङ गरी ठूलै पानी पर्लाजस्तो भएपनि पानी पर्न नसकी त्यसै टर्दा किसान निराश बनेका छन् ।
विगत ३÷४ दिनदेखि सर्लाहीमा यसरी नै मौसम बदली हुने तर पानी नपर्ने भइरहेको छ । आज पनि यहाँको मौसम धुम्म हुने र घाम लाग्ने भइरहेको छ । तुँवालो लागे झैँ भएर टाढाको दृश्य देखिएको छैन् । यहाँ राति कतैकतै पानी छिट्याएको थियो । हिजोआज एक ठाउँमा हल्का वर्षा भए, नजिकैको अर्को ठाउँमा पानी नै नपर्ने अर्थात् खण्डवृष्टि हुने भइरहेको छ ।
पानी नपर्दा यहाँका किसान अत्यन्त निराश छन् । पर्याप्त वर्षा हुन नसक्दा धान रोपाइँ रोकिएको छ । पानी लाग्ने क्षेत्रमा फाट्टफुट्ट रोपाइँ भइरहे पनि आकाशे वर्षाको भरमा खेती हुने क्षेत्रमा रोपाइँ ठप्प भएको हो ।
धान रोपाइँ भइरहेको ठाउँमा धाजा फाटेर सुक्न थालेको छ । यहाँ अब एक झर भलबाढी बग्ने गरी पर्याप्त वर्षा भइदिए अधिकांश किसानले धान रोपाइँ सक्ने गरी तयारीमा बसेका छन् ।