झडप प्रतिकात्मक तस्बिर ।
ब्रम्हपुरी – सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–७, मोहनगन्जमा ४/५ दिन अघि बच्चाहरु क्रिकेट खेल्ने क्रममा विवाद भएको विषयलाई लिएर बुधबार अभिभावकबीच कुटाकुट हुँदा १३ जना घाइते भएका छन् ।
बुधबार दिउँसो ३ बजेतिर दुवै पक्षका अभिभावकबीच झै–झगडा र कुटपिट हुँदा दुवै पक्षका गरी १३ जना घाइते भएका हुन् । सो घटनामा २२ वर्षका रामइश्वर महतो, ४० वर्षका राजाराम महतो, ३५ वर्षका जितेन्द्र महतो, ५२ वर्षका जागेश्वर महतो र जोगिन्दर महतो घाइते भएका छन् ।
त्यसैगरी, अर्को पक्षका ४५ वर्षीया लिलादेवी, १४ वर्षीय उज्वल सिंह, ४१ वर्षीय राजकुमार महतो, २१ वर्षीय सन्जिकुमार महतो, ६० वर्षीय रामशरण महतो, ६६ वर्षीय रघुनाथ महतो, २० वर्षीय रन्जित महतो, ५० वर्षीय रामजिवन महतो र ४५ वर्षीय राजनारायण महतो घाइते भएका छन् । दुवै पक्षका घाइतेको प्रादेशिक अस्पताल मलंगवामा उपचार चलिरहेको छ ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ स्थानीय प्रहरी चौकीबाट तत्कालै पुगेको प्रहरी टोलीले भिडलाई तित्तरबित्तर पारी घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवातर्फ पठाएको सर्लाही प्रहरीका निमित्त प्रमुख डीएसपी दिपेन्द्र पन्जियार थारुले उज्यालो अभियानसँग बताए ।