logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सबैभन्दा धेरै दिन विद्यालय आउने १० जना बालबालिका सम्मानित


  • उज्यालो अभियान

घारिबथान – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा रहेको नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय बद्रीपुर घारीमा नियमित विद्यालय आउने १० जना बालबालिकालाई आइतबार सम्मान गरिएको छ ।

स्थानीय संघर्ष बाल क्लबले कक्षा १ देखि ५ सम्म नियमित विद्यालय उपस्थित हुने १० जना बालबालिकालाई सम्मान गरेको हो । ती बालबालिकालाई शैक्षिक सामग्री र उनीहरुका अभिभावकलाई अविर लगाएर सम्मान गरिएको बाल क्लबले जनाएको छ ।

क्लबकी अध्यक्ष दिलमाया स्याङतानको अध्यक्षता तथा कालिन्जोरका वडाध्यक्ष देविबहादुर खत्रीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वडा सदस्य महेश बराल, शिक्षकलगायत भएर सम्मान गरेका हुन् । प्रत्येक बालबालिकालाई नियमित विद्यालय आउन प्रोत्साहन होस् र को धेरै दिन विद्यालयमा आउने भनी प्रतिस्पर्धा नै चलोस् भन्ने उद्देश्यले सबैभन्दा बढी दिन विद्यालय आउने १० जना बालबालिका छानेर सम्मान गरिएको हो ।

ग्रामीण नारी उत्थान संघले सम्मानित बालबालिकालाई शैक्षिक सागम्री प्रदान गर्न आर्थिक सहयोग गरेको संस्थाकी सामाजिक परिचालक विन्दा लुंगेलीले जानकारी दिइन् ।