चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिकामा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाले नेपाल पत्रकार महासंघ सर्लाही शाखासँग समन्वय गरी गाउँपालिकाबाट भए गरेका गतिविधिबारे नाढीमन ताल परिसरमा सार्वजनिक सुनुवाई गरेको हो । गाउँपालिकाका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष गीतादेवी महतो, प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङ, १ देखि ७ नम्वरसम्मका वडाध्यक्षहरु क्रमश ः रामेश्वर प्रसाद यादव, शम्भु साह तेली, सीताराम महतो, राजिव सिंह दनुवार, सूर्यवंश राय, रामस्वरुप कुर्मी र दीपेन्द्रकुमार चौधरी, कार्यपालिका सदस्य, अन्य जनप्रतिनिधिसहित आम सर्वसाधारणको उपस्थिति रहेको थियो ।
सहभागीले गाउँपालिकासँग जोडिएका विषयमा राखेको जिज्ञाशा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षलगायत भएर जवाफ दिए । पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीले स्वागत मन्तव्य राखेका कार्यक्रमको संचालन पत्रकार श्रवण थापाले गरेका थिए ।
स्थानीय सरकार संचालन ऐनमा प्रत्येक पालिकाले सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रावधान रहेपनि यहाँका केही पालिकाले मात्रै आम सर्वसाधारणलाई सहभागी गराई सार्वजनिक सुनुवाई गर्ने गरेका छन् । जिल्लाको दक्षिण–पूर्वी भेगमा पर्ने चन्द्रनगर गाउँपालिकाले भने शनिबार सबै सरोकारवालालाई सहभागी गराई सार्वजनिक सुनुवाई गरेको हो ।