केही साताअघि बाँके जंगलमा पल्टिएको पिकअप ।
फूलजोर – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बाँके जंगलमा आज बिहान बस र दुध बोक्ने ट्यांकर ठोक्किँदा दुई जना घाइते भएका छन् ।
बाँके जंगलस्थित भत्किएको लच्का नजिक बिहान ८ बजेतिर पूर्वबाट पश्चिमतर्फ आइरहेको को १ ग ५३ नम्वरको दुध बोक्ने ट्यांकर र विपरीत दिशाबाट जाँदै गरेको ना ४ ख ४५८२ नम्वरको बस आसपमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा ट्यांकरका चालक धनुषाको मिथिला नगरपालिका ५ बस्ने ४७ वर्षीय श्रीनारायण महतो र सोही गाडीमा सवार मिथिला नगरपालिका ६ बस्ने ३९ वर्षीय रामकृपाल यादव घाइते भएका छन् ।
घाइते दुवै जनालाई उपचारका लागि मोडल अस्पताल लालगढ, धनुषा पठाइएको प्रहरी चौकी फूलजोरले जनाएको छ । दुर्घटनामा बसमा सवार कोही कसैलाई केही नभएको प्रहरी चौकी फूलजोरका असई अजय यादवले जानकारी दिए ।
असई यादवका अनुसार यि दुर्घटना भएको स्थान नजिकै राति एउटा स्कारपियो र बिहान पानी परेको बेला अर्को एउटा ट्रक पनि पल्टिएका छन् । स्कारपियो र ट्रक दुर्घटनामा भने कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।