भेल्ही – साइड क्लियर नहुँदा काम अघि बढ्न नसकेको सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकमा बुधबार फेरि जिल्लास्थित प्रमुखहरुले निरीक्षण गरेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, ठेकेदार चन्द्रिका साहलगायतले भेल्ही, मलंगवालगायतका स्थानमा हुलाकी सडकको निरीक्षण गरेका हुन् । हुलाकी सडकको भेल्हीलगायतका स्थानमा सडकमा परेको घर भत्काउन घरधनीले अटेरी गर्दा काम नै रोक्किरहेको छ ।
बुधबार मलंगवाको कोल्डस्टोर क्षेत्रमा भने केही घरमा डोजर चलाइएको छ । त्यहाँ बिहीबार पुनः २ घण्टा बत्ती काटेर साइड क्लियर गराउने तयारी छ ।

मलंगवाकै पुरानो भन्सार क्षेत्रमा सडकको साइड क्लियर नहुँदा काम हुन सकेको छैन् । विकास एण्ड व्रदर्श निर्माण कम्पनिले मलंगवामै नालाको काम अलपत्र छाड्दा झनै समस्या छ ।
यस्तै, त्रिभुवननगरदेखि सोनवर्षासम्म पुग्ने सडकमा समेत साइड क्लियर नहुँदा समस्या छ । भेल्ही, मलंगवालगायतका स्थानमा हुलाकी सडकको साइड क्लियर गराउन समन्वय प्रमुख, सीडीओ लगायतले बारम्बार अनुगमन र अनुरोध गरेपनि घरधनी र राजनीतिक नेतृत्व गर्ने व्यक्तिले नै अनेक बहानाबाजी गर्दा समस्या भइरहेको हो ।
यो अभियानमा जनप्रतिनिधिले साथ नदिँदा समस्या भइरहेको अनुगमनमा निरन्तर सहभागी एक जना नागरिक अगुवाले बताए । हुलाकी सडक नबन्दा स्थानीयलाई आवातजावतमा समस्या भइरहेको भने हिजोआज धुलोले हैरान भइरहेका छन् ।