logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जिल्ला प्रशासनमा भीड घटेन


  • उज्यालो अभियान

तस्बिर : नेहा यादव

मलंगवा – जन्मसिद्धको नागरिकता भएकाका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न सुरु गरिएपछि जिल्ला प्रशासन कार्यालय मलंगवामा बढेको भीड कम हुन सकेको छैन् ।

भीड थेग्न गाह्रो परेपछि सीडीओ कार्यालयले अनलाईनबाट टोकन लिनुपर्ने र टोकनमा तोकिएको मितिमा सेवा लिन आउनुपर्ने भनेको छ । तर, पनि कार्यालयमा सेवाग्राहीको अत्यधिक भीड लागिरहेको हो ।

धेरैजना चर्को घाममा लाईन बसेका छन् भने के–के कागजात जुटाउनुपर्ने हो ? भनी अन्यौलमा परेरे दौडिरहेका देखिन्छन् । हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा पनि जन्मसिद्धका सन्तान अत्यधिक मात्रामा नागरिकता लिन पुगिरहेकाले थेग्नै नसक्ने भीड छ ।

सेवाग्राहीलाई अनलाईनबाट कसरी टोकन लिने ? भन्ने थाहा नै छैन् । प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवले बुधबार एक सूचना निकालेर अनलाईनबाट टोकन लिने प्रक्रियाका लागि सहयोग गरिदिन वडा कार्यालयहरुसँग अनुरोध गरेका छन् ।

जन्मसिद्ध नागरिकता भएका धेरै अहिले छोराछोरीलाई नागरिकता दिलाउन के–के कागजात जुटाउनु पर्ने हो ? भनी अन्यौलमा देखिएका हुन् । उनीहरुलाई आ–आफ्नो वडा कार्यालयमा गएर बुझ्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।