हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–७, चितायनस्थित मुसहर बस्तीमा स्थानीयले पालेका पशुचौपायलाई आज (मंगलबार) निःशुल्क भ्याक्सिन लगाइएको छ ।
मुसहर समुदायको उत्थानका लागि कार्यरत साउथ एशिया पार्टनशीप नेपाल (साप–नेपाल) ले एक महिनाअघि सो बस्तीमा बसोवास गर्ने २६ जना मुसहरमध्ये १० परिवारलाई पाडी र १६ परिवारलाई बाख्रा वितवरण गरेको थियो । सोही संस्थाले आज फेरि हरिपुर नगरपालिकाको पशु स्वास्थ्य शाखासँग समन्वय गरी बाँडिएका ती चौपायलाई निःशुल्क रुपमा भिटामिन तथा जुका, नाम्लेसहित भित्री तथा बाहिरी किरा नियन्त्रण गर्ने भ्याक्सिन लगाइदिएको हो ।
नगरपालिकाका पशु शाखा प्रमुख दिव्य श्रेष्ठ, पशु स्वास्थ्यकर्मी प्रमोद सत्याल र विद्यानन्द रायलाई मुसहर बस्तीमै ल्याएर पाडापाडी तथा बाख्रापाठालाई भ्याक्सिन लगाउन लगाइएको साप–नेपालका प्रादेशिक संयोजक जनक कार्कीले जानकारी दिए । कार्कीका अनुसार संस्थाले एक महिनाअघि वितरण गरेकासहित मुसहर समुदाय आफैले पहिलेदेखि नै पाल्दै आएका चौपायलाई समेत भ्याक्सिनेसन सेवा प्रदान गरिएको छ ।
पशुपालन गर्दै आइरहेका मुसहर महिलालाई पशु स्वास्थ्यकर्मीबाट पशुपालनका सम्वन्धमा अभिमुखीकरण समेत प्रदान गरिएको कार्कीले बताए । शिविरमा केही किसानले आ–आफ्ना चौपायमा लागेको रोगबारे पशु स्वास्थ्यकर्मीलाई ल्याएर देखाएका र पशु स्वास्थ्यकर्मीले आवश्यक परापर्श तथा औषधि सिफारिस गर्नुभएको संस्थाले जनायो ।
कार्यक्रममा हरिपुर नगरपालिका–७, का वडाध्यक्ष मनोजकुमार चौधरीले संस्थाबाट प्राप्त सहयोगले अत्यन्त पिछडिएको दलित अन्तर्गत मुहसर समुदायको आयआर्जनमा टेवा पुग्ने बताउँदै आगामी दिनमा वडाबाट पनि यस बस्तीको विकासका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे । मुसहर महिला सशक्तीकरण मञ्च चिताइनकी अध्यक्ष उर्मिलादेवी माझीले साप–नेपालबाट निरन्तर सचेतनामूलक कार्यक्रम प्रदान गरिएपछि बस्तीमा सरसफाई गर्ने, आफ्ना बालबालिकालाई विद्यालय पठाउने, बचत गर्नेजस्ता सकारात्मक परिवर्तन आइरहेका बताए ।
अहिले पुनः पाडी र बाख्रा सहयोग गरेपछि धेरैलाई आयआर्जनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको माझीको भनाई छ । आज चिताइनको जस्तै पशु शिविर भोली हरिपुर नगरपालिका–९, पिडारीस्थित मुसहर बस्तीमा गरिने आयोजक साप–नेपालले जनाएको छ ।