logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दीमा नगरस्तरीय कवितावाचन प्रतियोगिता, जनज्योतिकी अश्रु प्रथम


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीमा सोमबार नगर स्तरीय कवितावाचन प्रतियोगिता सम्पन्न भएको छ ।

लालबन्दी नगर वाङ्मय परिषद्ले वडा नं. ९ स्थित आइडीएल को–एड एकेडेमीको प्राङ्गणमा नगर स्तरीय कविता वाचन प्रतियोगिता–२०८० सम्पन्न गरेको हो । जसमा जनज्योति माध्यमिक विद्यालय लालबन्दी ९ की छात्रा अश्रु दाहालको ‘प्रश्नै प्रश्नबीच म’ शिर्षकको कविता पहिलो हुन सफल भएको छ ।

त्यस्तै, एभरेष्ट एकेडेमी लालबन्दी ५ की छात्रा प्राप्ती कार्कीको ‘समय’ शिर्षकको कविता दोस्रो, लालबन्दी ५ मै रहेको दीव्यज्योति आवासिय माध्यमिक विद्यालयका छात्र संयोग घिमिरेको ‘उ केटो’ नामक शिर्षकको कविता तेस्रो र नवजीवन विद्याश्रम नमूना माध्यमिक विद्यालय लालबन्दी २ जुटपानीकी छात्रा प्रिन्सा काफ्लेको ‘जङ्क फुड’ नामक शिर्षकको कविताले सान्त्वना स्थान प्राप्त गरेको आयोजक लालबन्दी नगर वाङ्मय परिषद्ले जनायो । प्रतियोगितामा लालबन्दी नगरभित्रका विभिन्न विद्यालयबाट २५ जना विद्यार्थीले सहभागिता जनाएका कार्यक्रम संयोजक तथा परिषद्का सचिव सुमन घिमिरेले बताए ।

घिमिरेका अनुसार परिषद्का अध्यक्ष अच्युत अधिकारीको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्ने चारै जना विद्यार्थीलाई नगद, शिल्ड र प्रमाण–पत्रसहित सम्मान गरिएको छ ।

विद्यालयस्तरमा अध्ययनरत् छात्रछात्रामा रहेको अन्तरनिहीत प्रतिभा प्रप्फुटन गराउने उद्देश्य अन्तर्गत कविता वाचन प्रतियोगिता आयोजना गरिएको लालबन्दी नगर वाङ्मय परिषद्का पदाधिकारीले बताएका छन् ।