हरिवन नगरपालिका कार्यालय । (तस्बिर : उज्यालो अभियान)
हरिवन – जनप्रतिनिधिबीचको आपसी द्वन्द्वका कारण सर्लाहीका दुईवटा स्थानीय तहले तोकिएको मितिमा नीति तथा कार्यक्रम एवं बजेट ल्याउन सफल भएनन् ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाहरुले हरेक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेत गाउँ वा नगरसभामा पेस गर्नुपर्छ । तर, विवाद रहेको यहाँका हरिपूर्वा नगरपालिका र हरिवन नगरपालिकाले आइतबारसम्म नीति, कार्यक्रम तथा बजेट ल्याउन सकेनन् ।
देशभरमै सबैभन्दा बढी २० वटा स्थानीय तह रहेको सर्लाहीमा अन्य पालिकाले भने आ–आफ्नो गाउँ तथा नगरसभामा बजेट प्रस्तुत गरेका छन् । चक्रघट्टा गाउँपालिका र कौडेना गाउँपालिकाले यसअघि नै तीति तथा कार्यक्रम एवं बजेट ल्याइसकेका थिए ।
बाँकी १५ वटा पालिका मध्ये लालबन्दीले शनिबार नीति तथा कार्यक्रम एवं आईतबार बजेट सार्वजनिक गरेको छ भने अन्य १४ वटा पालिकाले आईतबार नीति तथा कार्यक्रम सभा समक्ष पेश गरेका हुन् । हरिपूर्वा नगरपालिकामा तीन महिनादेखि तालाबन्दी रहेकोमा आइतबारबाट तालाबन्दी खुले पनि बजेट प्रस्तुत हुन सकेन । हरिवन नगरपालिकामा पनि मेयर रमेश बुढाथोकी तथा वडाध्यक्षहरुबीच आपसी सहमती जुट्न नसक्दा नगरसभा हुन नसकेको बुझिएको छ ।
नेकपा माओवादीबाट एक्लै बिजयी भएका मेयर बुढाथोकी र नेपाली कांग्रेस तथा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षबीच विवाद चल्दै आएको छ । विवाद रहेका यि तीन पालिकासहित यसअघि नै गाउँ सभा गरीसकेका चक्रघट्टा र कौडेनाबाहेक अन्य १५ पालिकाले आइतबार बजेट सार्वजनिक गरेका हुन् ।
बसबरिया गाउँपालिकामा विवादकै बीच गाउँसभा सम्पन्न भएको छ । यहाँ गाउँपालिका अध्यक्ष रामसिंहासन राय र उपाध्यक्ष सरिता कुमारी साह पक्षबीच लामो समयदेखि विवाद थियो ।
गाउँपालिका अध्यक्ष रायले एकलौटी ढङ्गले गाउँसभा गर्न लागेको भन्दै उपाध्यक्ष साह पक्षले हस्तक्षेप गर्नेक्रममा आइतबार दिउँसो केहीेबेर झडप नै भएको छ । झडपमा तीन आन्दोलनकारी र पाँच प्रहरी घाइते भएका छन् ।
तीन राउण्ड अश्रुग्याँस प्रहार गरी स्थिति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्ष रायले गाउँसभा भइरहेको ठाउँमा आएर एक्कासी ढुङ्गामुढा गरिएको र स्थिति सामान्य भएपछि बजेट सार्वजनिक गरिएको बताए । उनले उपाध्यक्ष साह पक्षीय तथा नेपाली कांग्रेसका नेता कार्यकर्ताले सभास्थलमा ढुंगामुढा सहित बियरका बोतल प्रहार गरेको आरोप लगाए ।
चन्द्रनगर गाउँपालिकामा गाउँसभा गर्नका लागि आन्दोलित जनप्रतिनिधिसँग आइतबार बिहान बैठक बसेपनि कुनै निष्कर्ष निस्किएन । तथापी १३औं गाउँसभा उद्घाटन गरिएको गापा अध्यक्ष राजकुमार महतोले जानकारी दिए । गाउँसभा पनि जारी रहने र विपक्षीसँग छलफलको प्रकृया पनि जारी रहेको अध्यक्ष महतोको भनाई छ ।
ईश्वरपुर, बरहथवा, हरिपुर, बागमती, मलंगवा, गोडैता, बलरा, कबिलासी नगरपालिका तथा रामनगर, धनकौल, ब्रम्हपुरी, पर्सा, विष्णु लगायत गाउँपालिकाहरुले नीति तथा कार्यक्रम एवं बजेट सार्वजनिक गरेका छन् ।
(नोट : यसअघि प्रकाशित समाचारमा केही त्रुटी भएकाले सच्याईएको)