logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा पानी पर्नेक्रम बढ्यो


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी – सर्लाहीमा पानी पर्नेक्रम बढेको छ ।

जिल्लामा बेलाबेलामा पानी पर्ने र मौसम उघ्रिने भइरहेको हो । गएराति यस भेगमा पानी परेको छ । आज पनि बेलाबेलामा पानी छिट्याउने र धाम्मधुम्म हुने भइरहेको छ । लामो प्रतिक्षापछि पर्याप्त वर्षा हुँदा यहाँका किसान खुसी छन् ।

पानी निकास नहुने कतिपय ठाउँ भने अहिलेको पानीमै डुबानमा पर्न थालिसकेका छन् । लच्कामा बाढी आउँदा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा साना सवारीलाई राजमार्ग वारपारमै समस्या भइरहेको छ ।

यस्तै, कतिपय भित्री सडक र भर्खरै निर्माण भएका संरचनामा भल, बाढीले क्षति गरेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।

यसैबीच, देशभरको मौसम बदली भएको छ । मध्य र पूर्वी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

गएराति बारा, काभ्रेपलाञ्चोक, कास्कीको पोखरा र मकवानपुरमा धेरै पानी परेको छ । आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेकाले आगामी तीन दिनसम्म नै उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । मनसुनको समयमा बाढी, पहिरो, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

गएको जेठ ३१ गते पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन हिजो देशभर फैलिएको छ । अहिले मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ ।