logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मुसहर बालबालिकालाई साप नेपालद्वारा शैक्षिक सामग्री सहयोग


  • उज्यालो अभियान

जुटपानी – सर्लाहीको हरिपुर नगरपालिका–८, जुटपानीमा बिहीबार १४ जना मुसहर बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल) ले अति पिछडिएको दलित समुदाय अन्तर्गत पर्ने मुसहर बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो । हरिपुर नगरपालिका ८ का वडाध्यक्ष हरिबहादुर थापा, साप–नेपालका प्रादेशिक संयोजक जनक कार्की, जनजीवन विद्याश्रम नमूना माध्यमिक विद्यालय जुटपानीका प्रधानाध्यापक भलबहादुर अधिकारी, मुसहर महिला सशक्तीकरण सन्जालकी अध्यक्ष लक्ष्मी पासवानलगायत सन्जालका सदस्यहरुको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको साप–नेपालका फिल्ड सुपरभाइजर मनोज पासवान जानकारी दिए ।

पासवानका अनुसार प्रत्येक बालबालिकालाई उनीहरु अध्ययन गरिरहेका कक्षाको सम्पूर्ण किताब, एक दर्जन कापी र कलम वितरण गरिएको हो । आर्थिक अभावका कारण कापिकलम र किताब किन्न नसकेर पढाइ छाड्न बाध्य मुसहर बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरी उनीहरुको पठनपाठनमा टेवा पुगोस् भन्ने उद्देश्यले यस प्रकारको सहयोग गरिएको संस्थाका प्रादेशिक संयोजक कार्कीले बताए ।

साप नेपालकै सक्रियतामा नवलपुरस्थित लर्डब्राइड विजडम इन्टरनेशल एकेडेमीमा कक्षा ३ मा भर्ना गरिएका हरिपुर नगरपालिका ६ लक्ष्मीपुरकी राधिका माझीलाई समेत स्कुल ब्याग, किताब, कापी, विद्यालय पोसाक र जुत्ता सहयोग गरिएको संस्थाले जनायो । प्रादेशिक संयोजक कार्कीले ति सम्पूर्ण बालबालिकालाई ५५ हजार रुपैयाँ बराबराका शैक्षिक सामग्री प्रदान गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि हरिपुर ८ का वडाध्यक्ष थापाले साप–नेपालले मुसहर बस्तीमा महिला सशक्तीकरणका कार्यक्रम संचालन गरेर महिलाहरुमा परिवर्तन ल्याएकाले धन्यवाद दिँदै मुसहर बालबालिकाको शैक्षिक विकासका लागि साप–नेपालले गरिरहेको सहयोग महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरे ।

विद्यालयका प्रधानाध्यापक अधिकारीले मुसहर बालबालिकाको पठनपाठनका लागि विद्यालयले समेत आफ्नो तर्फबाट सहयोग गरिरहेको उल्लेख गरे ।