चक्रघट्टा – सर्लाहीको चक्रघट्टा गाउँपालिकाको १२ औँ गाउँसभा आइतबार उद्घाटन भएको छ ।
चालु आर्थिक वर्ष २०७९/०८० को कार्य प्रगति र आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित आय–व्यय र नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँसभा प्रारम्भ गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्जिवकुमार यादवले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवको अध्यक्षतामा मधेश प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री सन्जयकुमार यादवले आइतबार साँझ अबेर गाउँसभाको उद्घाटन गरेका हुन् ।
गाउँसभामा ३५ करोड ६४ लाख ३६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ । चक्रघट्टा गाउँपालिका सर्लाही जिल्लामा गाउँसभा गर्ने पहिलो पालिका बनेको छ ।
यहाँका अन्य पालिका गाउँ तथा नगरसभाको तयारीमा जुटिरहेका छन् । तर, हरिपूर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकामा भने राजनीतिक किचलो छ ।
हरिपूर्वा नगरपालिकामा २ महिना भन्दा बढी समयदेखि तालाबन्दी छ भने चन्द्रनगरमा कार्यपालिकाभित्र बहुमत रहेका जनप्रतिनिधि गाउँपालिका अध्यक्षको विरुद्धमा उत्रिएर आन्दोलन गरिरहेका छन् ।