logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

अतिरिक्त हुलाक खारेज गरिएपछि सर्लाहीमा पनि आन्दोलन


  • उज्यालो अभियान

कार्यालय खारेज भएपछि एकतावद्ध भएका अतिरिक्त हुलाक कर्मचारी ।

लालबन्दी – सरकारले जेठ १५ गते बजेट भाषणमार्फत अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने घोषणा गरेपछि सर्लाहीका हुलाक कर्मचारी पनि आन्दोलित बनेका छन् ।

उनीहरु गएको जेठ १६ गतेदेखि नै अतिरिक्त हुलाक कार्यालयले प्रदान गर्ने सम्पूर्ण सेवा बन्द गरी आन्दोलनमा उत्रिएका हुन् । सर्लाहीमा ७९ वटा अतिरिक्त हुलाक कार्यालयमा २३२ जना कर्मचारी कार्यरत छन् । सरकारले कार्यालय खारेज गर्ने घोषणा गरेपछि वर्षौदेखि सेवा प्रदान गर्दै आइरहेका आफूहरु कामकाजविहीन हुने भएको भन्दै कर्मचारीले आन्दोलन गरिरहेका हुन् ।

आन्दोलित कर्मचारीले अतिरिक्त हुलाक खारेजको निर्णय तत्काल फिर्ता गर, लामो समयदेखि कार्यरत कर्मचारीको रोजगारी खोस्न पाइँदैन, राजिनामा दिइ सेवाबाट नियमित रुपमा अवकाश भएका वा हुने कर्मचारीको सेवा अवधिको आधारमा सेवा सुविधा सुनिश्चित गरलगायतको माग राख्दै आज जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनका जिल्ला अध्यक्ष विजय यादवको नेतृत्वमा आन्दोलित हुलाक कर्मचारीले जिल्ला प्रशासन कार्यालय मलङ्गवामार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका हुन् ।

आन्दोलनको कार्यक्रम अन्तर्गत असार ९ गतेसम्म यसैगरी कार्यालय बन्द गरेर कामकाज ठप्प पार्ने र त्यसबेलासम्म पनि आफूहरुको माग सुनुवाई नभए १० गतेबाट अतिरिक्त हुलाक कार्यालयसँगै इलाका हुलाक र जिल्ला हुलाक कार्यालयमा समेत तालाबन्दी गरेर कामकाज ठप्प पारिने नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएसनका केन्द्रिय सदस्य तथा जिल्ला सचिव शेखर खड्काले जानकारी दिए ।