हरिवन – आज दिनभर अवरुद्ध भएको सर्लाहीको हरिवन चोकदेखि उत्तर कैलाशपुरीसम्म जाने भित्री सडक साँझबाट खुलेको छ ।
सो सडक अन्तर्गत चोकदेखि डेढ/दुई सय मिटर उत्तर साइड क्लियर नहुँदा सडक कालोपत्रेको काम रोक्किरहेको छ । मुखमा साइड क्लियर गरेर अलपत्र छाडेको र बाँकी काम अगाडि नबढाएको भन्दै स्थानीयले तत्काल रोकिएको काम अघि बढाउन माग गर्दै हरिवन चोकमा आज दिनभर बाँसको बेरा लगाएर बाटो अवरुद्ध पारे ।

बाटोको पश्चिम महावीर श्रेष्ठ र पूर्वमा चित्रबहादुर कार्कीबीच सीमाको विवादले गर्दा साइड क्लियर हुन नसक्दा सडकको काम गर्न निकै गाह्रो परिरहेको छ । यस ठाउँमा बारम्बार बाटो नाप्ने र छलफल गर्ने काम भएपनि समस्या समाधान हुन सकेको छैन् ।
स्थानीयले अब जसरी नि तत्काल काम हुनुपर्ने माग राखेर बाटो नै जाम गरेपछि आज एक चरण सरोकारवाला बसेर मेयर रमेश बुढाथोकी कमल, हरिवन ११ का वडाध्यक्ष शेष मेहबुब रेजा, पूर्व प्रदेशसभा सदस्य डिल्ली प्रसाद उप्रेती, राजनराज भण्डारी र मुकुन्द थपलिया रहेको ५ सदस्यीय समिति गठन गरिएको छ । सो समितिले गरेको निर्णय दुवै जनाले मान्ने र सोही अनुसार साइड क्लियर गर्दै अगाडि बढ्ने सहमती भएको वडाध्यक्ष रेजाले बताए ।
हरिवन चोकदेखि उत्तरको सडक ३५ फिट चौँडा पार्दै अघि बढ्ने तयारी छ । सोही अनुसार सनराइज आवासिय विद्यालयको समेत भवन पर्ने भएकाले त्यस विद्यालयलाई पनि सम्झाइबुझाइ गरी सडकको साइड क्लियर गराएर कालोपत्रे गराइने बताइएको छ ।
मेयर बुढाथोकीले भोली बिहान एकचरण फेरि नक्सा अनुसार नापचाँजको काम गरेर साइड क्लियर गरी अगाडि बढिने जानकारी दिए ।