लालबन्दी – पानी पर्न रोकिएपछि सर्लाहीमा फेरि उखरमाउलो गर्मी हुन थालेको छ ।
चर्को घाम लागेर जमिन तात्न थालेसँगै यहाँ गर्मी पुनः बढेको हो । यहाँ अस्ती बेलुकासम्म सामान्य वर्षा भएको थियो । तर, त्यसपछि पानी पर्न रोकिएर चर्को घाम लागि, तातो हावा चल्न थालेपछि गर्मी बढेर जनजीवन प्रभावित हुन थालेको हो ।
पानी पर्न रोकिँदा किसान निराश भएका छन् । अझै केही समय पानी पर्दिए सुकेर नाश हुने अवस्थामा पुगेका मकै बाली उँभो आउने किसानको आश छ । चिसो नहुँदा धानको बीउ नउम्रिएपछि धेरै किसानले दोहो¥याएर बीउ राखेका छन् ।
२ दिनअघिको पानीले यस क्षेत्रमा केही मात्रामा हरियाली भने बढाएको छ । यो वर्ष पर्याप्त पानी पर्न नसक्दा खोला–खोल्सी, इनार, कुवालगायत अन्य जरुवामा राम्रोसँग पानी रसाउन सकेको छैन् । पानी पर्न रोकिएपछि ग्रामीण कच्ची सडक फेरि धुलाम्मे भएका छन् ।
मंगलबार राति र बुधबार दिउँसोपखको हावाहुरीपछि जिल्लाको चुरेभेगका विकट बस्तीमा बिजुली बत्ती अवरुद्ध भएको छ । शिरकालिन्जोर, बिलन्दीलगायतका क्षेत्रमा ३ दिनदेखि नै बत्ती अवरुद्ध हुँदा स्थानीय संचारसम्पर्क विहिन भएका छन् । लालबन्दी वितरण केन्द्र अन्तर्गतका अधिकांश क्षेत्रमा हिजो अपरान्हबाट मात्रै विद्युत् सूचारु भएको हो ।
अझै पनि बेलाबेलामा बत्ती गइरहने समस्या छ । विशेष गरी रातको समयमा समेत असिनपसिन हुने गरी गर्मी भएका बेला बत्ती कट्दा आम नागरिक थप प्रताडित बन्ने गरेका छन् ।