logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ईश्वरपुर खानेपानीको अध्यक्षमा कांग्रेसका जेनिस श्रेष्ठ विजयी


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुर खानेपानी आयोजना तथा सरसफाई मूल उपभोक्ता समितिको अध्यक्षमा नेपाली कांग्रेसका जेनिस श्रेष्ठ विजयी भएका छन् ।

कांग्रेस–लोसपा गठवन्धनबाट धारा चुनाव चिन्ह लिई प्रतिस्पर्धामा उत्रिएका श्रेष्ठ ७३१ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेबाट गाग्रो चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा होमिएका उमेश आलेले ६८८ मत मात्रै प्राप्त गरे ।

यसैगरी, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा पनि कांग्रेस–लोसपा गठवन्धनकै उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा मोहन महतो ७३२, सचिवमा रुपक थिङ ६८४, कोषाध्यक्षमा गंगामाया लामा ७१७ र सहसचिवमा अनिता कार्की ६९९ मत प्राप्त गरी विजयी भएका छन् ।

वडा नं. ४ र ५ को संयोजकमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । ४ मा सन्त बहादुर गोले १५५ र ५ मा रमिता देवी हेन्जन २०३ मत प्राप्त गरी खानेपानीको वडा संयोजकमा विजयी भएका छन् ।

त्यसैगरी, कांग्रेस–लोसपा गठवन्धनबाट वडा नं. ६ मा मनतोर कुमारी १९३, ७ मा भाग्यनारायण चौधरी १६९ र ८ मा सरोजकुमार रोक्का ११८ मत प्राप्त गरी संयोजकमा विजयी भएका छन् । ईश्वरपुर नगरपालिका ५ सखुवनीमा कार्यालय रहेको ईश्वरपुर खानेपानीको नयाँ नेतृत्व चयन गर्न हिजो मतदान भएको थियो ।

आज बिहान मतगणना सम्पन्न भएको हो । ईश्वरपुर खानेपानीले ईश्वरपुर नगरपालिकाको वडा नं. ४, ५, ६, ७ र ८ मा खानेपानी वितरण गर्दै आइरहेको छ । झण्डै २२ सय उपभोक्तामध्ये १९ सयजतिले मतदानमा भाग लिएका थिए ।