लालबन्दी – सर्लाहीमा गए (मंगलबार) राति आएको हावाहुरीले जिल्लाभर नै क्षति पुर्याएको छ ।
हावाहुरीले प्रत्येक गाउँमा कच्ची घरका छानो उडाएको छ । टाली तथा खपडाले छाएको घरमा क्षति पुर्याएपछि विपन्न परिवारहरु बिचल्लीमा परेका छन् ।
हावाहुरीले जिल्लाको रामनगर गाउँपालिका–४, धोबी टोलमा राकेश बैठाको कच्ची घर नै भत्काएको प्रहरीले जनाएको छ । लालबन्दी नगरपालिका १७ रानिगन्जमा विभिन्न घरका टाली, खपडा र जस्ता पाता उडाएको स्थानीयवासी रामबहादुर बोम्जनले जानकारी दिए ।

लालबन्दी नगरपालिका ६ मा पनि हावाहुरीले घरको छानो, बरण्डामा हालिएको जस्ता पाता उडाएको छ । त्यस्तै, बिजुलीको ५/७ वटा पोल समेत ढलेको स्थानीयवासी शंकर श्रेष्ठले बताए ।
जिल्लाको अन्य ग्रामीण भेगमा पनि हावाहुरीले रुख ढाल्नेलगायतका क्षति गरेको हाम्रा संवाददाताहरुले जनाएका छन् । जिल्लाकै कर्णाली भनेर चिनिने नारायण खोलामा पनि हावाहुरीले कच्ची घरहरुमा क्षति पुर्याएको स्थानीयवासी दिपसागर दोङले बताए ।
हावाहुरीपछि रातिदेखि नै जिल्लाभरकै विद्युत् अवरुद्ध भएको छ । ठाउँठाउँमै बिजुलीको पोल ढल्ने र तार चुँडिएकाले मर्मतका लागि अहिले सबैतिर बत्ती काटिएको छ । बजार क्षेत्रमा मर्मत सकेर जतिसक्दो छिटो बत्ती छाड्ने तयारी भएपनि पोल ढलेका र रुख लढेर क्षति गरेको क्षेत्रमा बत्ती सूचारु हुन समय लाग्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

अहिले हल्का रुपमा भइरहेको वर्षाले किसान र आम सर्वसाधारणलाई केही राहत मिलेको छ । मौसममा आएको बदलीसँगै यस क्षेत्रमा गर्मी केही मात्रा कम भएको छ ।
यस क्षेत्रमा मौसम धुम्मिने र साँझ तथा रातको समयमा पानी पर्नेक्रम चलिरहेको छ ।