logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

झोलुंगे पुल बनाउन बाँध फुटाएर अलपत्र छाड्दा गाउँमा जोखिममा


  • उज्यालो अभियान

पत्थरकोट – सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ११ बाहुनी र वडा नं. १३ पत्थरकोटलाई जोड्ने गरी बाहुनी खोलामा झोलुंगे पुल निर्माणको काम अलपत्र छाडिँदा बाहुनी गाउँ जोखिममा परेको छ ।

पुल निर्माणका लागि बाहुनी गाउँतर्फ खोलामा बाँधिएको बाँध भत्काएर ठूलो खाल्डो खनिएको लामो समय भइसक्दा समेत अलपत्र छाडिएकाले वर्षायाममा बाढी आएर गाउँतर्फ पस्ने जोखिम बढेको हो । खोला छेउमै बस्ती रहेको र पुल निर्माणका लागि भन्दै बाँध नै काटेर ठूलो खाल्डो पारिएकाले त्रासमा बस्नुपरेको स्थानीय अष्टबहादुर लामाले गुनासो गरेका छन् ।

भत्काएको बाँधमा तत्कालै नयाँ बाँध नसके बाढीको भंगोलो गाउँतर्फ सोझिने डर रहेको उनले बताए । लामाका अनुसार बाँधको थोरै भाग मात्रै बाँकी रहेकाले सानो बाढी आउँदा नै गाउँतर्फ पस्ने जोखिम छ ।

पुल निर्माण कार्यको गएको फागुन अन्तिमसाता पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, लालबन्दी ११ का वडाध्यक्ष दीपककुमार लामा, लालबन्दी १३ का वडाध्यक्ष शिवकृष्ण वैद्यलगायत भएर शिलान्यास गरेका थिए । वर्षायाम सुरु हुनै लाग्दा समेत भत्काएको बाँध कस्ने सुरसार नहुँदा आफूहरु त्रासमा बस्नुपरेको स्थानीयले गुनासो गरेका छन् ।

लालबन्दी नगरपालिका ११ का वडाध्यक्ष दीपक कुमार लामाले यो वर्ष बजेट कटौति भएकाले पुल निर्माण कार्य अधुरै बस्ने भएको जानकारी दिए । उनले यो वर्ष करिव २५ लाख रुपैयाँमा फाउण्डेसनको काम पूरा गरिएको र अर्को वर्ष बजेटको व्यवस्था मिलाइ बाँकी काम गरिने बताए ।

पुलको बाँकी काम चाँडो नहुने भएपछि नगरपालिकाबाट तत्कालै बाँध खोलिएको र फाउण्डेसन गरिएको ठाउँमा अर्को बाँध कस्ने तयारी गरिएको वडाध्यक्ष लामाको भनाई छ ।

बाहुनी खोलामा पुल निर्माण भएपश्चात पत्थरकोट र बाहुनीका स्थानीयलाई वर्षायाममा खोला बाढी आएका बेला खोला वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ तर सुरुमै निर्माणको काम अत्यन्त सुस्त हुँदा स्थानीयले नैराश्यता व्यक्त गरेका छन् ।