प्रतिकात्मक तस्बिर ।
बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–१७, नहरको बाटोमा आज (सोमबार) दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक महिला गम्भीर घाइते भएकी छन् ।
नहरको बाटो हुँदै दक्षिणतर्फ गइरहेको बा ३८ प ५२९६ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा सवार अन्दाजी ३१÷३२ वर्षीया महिला गम्भीर घाइते भएकी हुन् । उनको अचेत अवस्थामा बरहथवास्थित भेनस अस्पतालमा उपचार चलिरहेको छ ।
घाइते महिला बोल्न नसक्ने अवस्थामा रहेकाले उहाँको परिचय तथा ठेगाना खुल्न नसकेको इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । दुर्घटनापछि मोटरसाइकलका चालक फरार भएका छन् ।
स्थानीय गाउँलेले मोटरसाइकल दुर्घटनामा परेर महिला घाइते भएको भनी प्रहरीमा खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेर उनको उद्धार गरेको हो । यसैबीच, दुर्घटनामा परेको मोटरसाइकलमा झुड्याइरहेको अवस्थामा प्रहरीले १० केजी गाँजा बरामद गरेको छ ।
डीएसपी मिश्रले दुर्घटनामा परेको मोटरसाइकल गाँजा कारोवारीको हुनसक्ने आशंका गरिएको र फरार रहेका चालकको खोजी भइरहेको बताए ।
उता मलंगवा नगरपालिका–५ मा प्रहरीको गस्ती टोलीले आज दिउँसो दुईवटा भारतीय मोटरसाइकल र लागूऔषध गाँजा बरामद गरेको छ । नेपालबाट भारततर्फ गाँजा बोकेर जाँदै गरेको बीआर ५५ ए ८२०७ र बीआर ०६ बिके ०१७५ नम्वरको मोटरसाइकल बरामद गरेको छ ।
मोटरसाइकल चलाउने मानिस भने प्रहरीलाई देख्नासाथ भारततर्फ नै फरार भएका छन् । प्रहरीले दुईवटा मोटरसाइकलको सिटमुनी लुकाएर राखिएको १० किलो ४९० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ ।