लालबन्दी – सर्लाहीमा आज पनि गर्मी नै छ । तर अहिले बिहानीपख हावा चलिरहेकाले तुलनामा रुपमा हिजो अस्तीको भन्दा गर्मी केही कम भएको महसुस सर्वसाधारणले गरेका छन् ।
दिउँसोपख पनि हावा चल्छ, दिउँसोको हावा भने अत्यन्त तातो हुँदा मानिसलाई अत्यधिक टाउको दुख्ने लगायतका स्वास्थ्य समस्या देखिन थालेको छ । २ सातादेखिको गर्मीले आम मानिस प्रभावित भइरहेका हुन् ।
बढ्दो तापक्रम, चर्को घाम र तातो हावाका कारण मानिसले टिक्नै गाह्रो पर्न थालेको गुनासो गरेका छन् । जति आश गर्दा पनि पानी नपर्दा सर्वसाधारण निराश भएका छन् । हिजो र अस्ती दुई दिन बेलुकासम्म मौसम धुम्मिए पनि पानी पर्न सकेन ।
गएसाँझ चुरेभेगको एक÷दुई ठाउँमा पानी छिट्याएको थियो । पानी नपर्दा मकैलगायतका बालीनाली सुकेर गइरहेका छन् । कतिपय किसानले धानको ब्याड राख्न पाएका छैनन् भने धुले ब्याड राखेका किसानले बीउ उम्रिन नसकेको गुनासो गरेका छन् ।
मध्यान्हपख आगोको राप झैँ तातो हावा चल्दा मानिसलाई घर बाहिर निस्कन मुस्किल पर्छ । राति समेत छटपटी हुने गरी गर्मी हुँदा मानिस सुत्न समेत सकेका छैनन् । बालबालिका, वृद्धवृद्धालगायत सबै बिरामी पर्न थालेका छन् ।
गर्मीले सहज रुपमा दैनिक कामकाज गर्न नपाउँदा हरेक क्षेत्रमा प्रभाव देखिन थालेको छ । चिकित्सकले गर्मीबाट बच्न सकेसम्म घरभित्रै बस्न, पर्याप्त पानी पिउन र स्वास्थ्यमा समस्या देखिए स्वास्थ्य संस्थामा जान आग्रह गरेका छन् ।
यस्तै, गर्मीकै बेला जिल्लाको ग्रामीण भेगमा छिनछिनमै बत्ती गइरहने समस्याले स्थानीय हैरान भएका छन् ।