बसबरिया – सर्लाहीको बसबरिया गाउँपालिकामा नेपाली कांग्रेसले विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै आइतबार गाउँपालिका अध्यक्ष रामसिंहासन यादवलाई ज्ञापन पत्र बुझाएको छ ।

कांग्रेस नेता गजेन्द्र साहको नेतृत्वमा भवानीपुरस्थित गाउँपालिका कार्यालयमा पुगेर कांग्रेस नेता कार्यकर्ताले गाउँपालिका अध्यक्ष यादवलाई आफ्ना कमिकमजोरी सुधार गर्दै अनियमितता नगरी काम गर्न भन्दै ध्यानाकर्षणसहितको ज्ञापन पत्र बुझाएका हुन् । गाउँपालिका अध्यक्षले चुनावका बेला गाउँपालिकावासीसँग गरेको प्रतिवद्धता विपरीत अहिले आएर विभिन्न किसिमको जालझेल गरेको, कानून र जनताका भावना विपरीतका काम गरेको, बिजुली बत्ती, ग्याँस सिलिण्डर खरिद लगायतमा भ्रष्टाचार भएको भन्दै ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराएको छ ।

साथै, कांग्रेसले सूचनाको हक सम्वन्धी ऐन अन्तर्गत गाउँपालिकाबाट विभिन्न सूचना समेत माग गरेको छ ।