logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चौबिसै घण्टा गर्मी हुँदा छटपटिएर दिनचर्या काट्नु पर्ने बाध्यता


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा करिव २ साताअघिदेखि अचाक्ली रुपमा बढेको गर्मी कम नहुँदा सर्वसाधारण झनझन शिथिल बन्दै गएका छन् ।

हिजोअस्ती झैँ आज पनि यस क्षेत्रमा उखरमाउलो गर्मी छ । गर्मीले जो कोही छटपटाइरहेका छन् । बढ्दो तापक्रम, चर्को घाम र तातो हावाले मानिसले टिक्नै गाह्रो पर्न थालेको गुनासो गरेका छन् । जति आश गर्दा पनि पानी नपर्दा सर्वसाधारण निराश भएका छन् ।

हिजो साँझपख केहीबेर हावा चलेर केही मात्रामा बादल देखिएको थियो तर पानी पर्न सकेन । पानी नपर्दा मकैलगायतका बालीनाली सुकेर गइरहेका छन् । कतिपय किसानले धानको ब्याड राख्न पाएका छैनन् भने धुले ब्याड राखेका किसानले बीउ उम्रिन नसकेको गुनासो गरेका छन् ।

मध्यान्हपख आगोको राप झैँ तातो हावा चल्दा मानिसलाई घर बाहिर निस्कन मुस्किल पर्छ । राति समेत छटपटी हुने गरी गर्मी हुँदा मानिस सुत्न समेत सकेका छैनन् । बालबालिका, वृद्धवृद्धालगायत सबै बिरामी पर्न थालेका छन् ।

गर्मीले सहज रुपमा दैनिक कामकाज गर्न नपाउँदा हरेक क्षेत्रमा प्रभाव देखिन थालेको छ । चिकित्सकले गर्मीबाट बच्न सकेसम्म घरभित्रै बस्न, पर्याप्त पानी पिउन र स्वास्थ्यमा समस्या देखिए स्वास्थ्य संस्थामा जान आग्रह गरेका छन् । यस्तै, गर्मीकै बेला जिल्लाको ग्रामीण भेगमा छिनछिनमै बत्ती गइरहने समस्याले स्थानीय हैरान भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको मलंगवा वितरण केन्द्रले मर्मतका लागि भन्दै आज बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म हरिपूर्वा, पर्सा, ब्रम्हपुरीलगायतका क्षेत्रमा बिजुली बत्ती काटिने जनाएको छ । अत्यधिक गर्मीमा विभिन्न बहानामा बत्ती काटिएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।