logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा आज पनि अत्यधिक गर्मी, सर्वसाधारण अत्तालिन थाले


  • उज्यालो अभियान

लालबन्दी – अघिल्ला दिनहरुमा झैँ सर्लाहीमा आज पनि बिहानैदेखि घाम लागेर अत्यधिक गर्मी छ ।

यस क्षेत्रमा चर्को घाम, तातो हावा अर्थात् ‘लू’ नरोकिँदा जनजीवन अत्यन्त कष्टकर बन्दै गइरहेको छ । तराईवासीलाई गर्मीले दैनिकी गुर्जान नै असाध्य मुस्किल पर्न थालेको हो ।

गर्मीले आम मानिस अत्तालिन थालेका छन् । आगोको राप झैँ अत्यन्त तातो हावा चल्दा घरबाहिर निस्कन सक्ने अवस्था छैन् । तराई क्षेत्रमा अघिल्लो हप्ताको सोमवारदेखि गर्मी ह्वात्तै बढेकोमा केही दिनयता तातो हावा समेत चल्न थालेपछि जनजीवन थप प्रभावित बन्न पुगेको हो ।

उखरमाउलो गर्मी र तातो हावाले बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्ति बढी प्रभावित भएका छन् । मजदुर र किसानलाई झनै मुस्किल पर्न थालेको छ । बाहिर निस्कनु पर्नेहरुलाई सडक तातेर हिँड्नै गाह्रो पर्ने अवस्था छ ।

आम मानिस गर्मीका कारण छटपटिएर दिनरात कटाइरहेका छन् । घरभित्रै बस्दा घर तातेर हपक्क गर्मी हुन्छ भने पंखाले समेत तातो हावा फाल्छ । अझ बेलाबेलामा बिजुली बत्ती कट्दा झन हपक्क गर्मी हुने गरेको स्थानीय बताउँछन् । रापले मकै बाली सुकेर गइरहेको छ भने धानको बीउ उम्रिएको छैन् ।

सुक्खा बढ्दा चुरेभेगका बस्ती खानेपानीको अभावले काकाकुल बनेका छन् । तराईवासी पानी पर्दिए गर्मी कम हुने र बालीनाली जोगिने आशमा बसेका छन् ।

यसैबीच, केही दिनदेखि भइरहेको उखरमाउलो गर्मी तत्काल घट्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् रोजन लामिछानेका अनुसार तत्काल ठूलो वर्षाको सम्भावना नरहेकाले अझै चार÷पाँच दिन गर्मी यस्तै रहने छ ।