नुनथर – बागमती नदीस्थित नुनथरमा बुधबार बिहान मधेश प्रदेश स्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यास गरेर देखाइएको छ ।
मधेश प्रदेशको विपद् व्यवस्थापन समितिद्वारा आयोजित कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा उद्धार अभ्यास गरेका हुन् । मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख आतिथ्यतामा उद्धार अभ्यास गरिएको हो ।

कार्यक्रमलाई छोटो सम्वोधन गर्दै मुख्यमन्त्री यादवले बाढी तथा डुबानको उच्च जोखिममा रहेको यस प्रदेशभित्र उद्धारका सरसामग्रीको अभाव हुन नदिन प्रदेश सरकारले सकेसम्मको व्यवस्था गर्ने र केन्द्र सरकारसँग समेत माग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा मधेश प्रदेशको गृह, सञ्चार, तथा कानून मन्त्रालयका सचिव उमेशकुमार ढकाल, नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिवासका उपरथी प्रेमध्वज अधिकारी, प्रदेश प्रहरी प्रमुख (डीआइजी) जनक भट्टराई, सशस्त्र प्रहरी प्रदेश प्रमुख (डीआइजी) दीपेन्द्रकुमार साह, सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रल, अन्य सुरक्षा निकायका जिल्लास्थित जिल्ला प्रमुख, विपद्को क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि, संचारकर्मी, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।

वर्षायाम सुरु हुने समय आएको र त्यसबेला के–कसरी उद्धारको काम गर्न सकिन्छ ? भनी सेना, प्रहरी र सशस्त्र भएर संयुक्त रुपमा उद्धार अभ्यास प्रदर्शन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी यादवले उज्यालो अभियानसँग बताए ।