logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मिटरब्याजीविरुद्ध सदरमुकाम मलंगवा नगरपालिकाबाटै बढी उजुरी, बागमतीमा कम


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा सदरमुकाम मलंगवा नगरपालिकाबाट सबैभन्दा धेरै मिटरब्याज पीडितले उजुरी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार अनुचित लेनदेन अर्थात् मिटरब्याज सम्वन्धी जाँचबुझ आयोगले उजुरी माग गरेपश्चात जिल्लाभरबाट एक हजार ९२० वटा उजुरी परेको छ । त्यसमध्ये जिल्लाभरमै सबैभन्दा धेरै सदरमुकाम मलंगवा नगरपालिकाबाट मात्रै ४५८ उजुरी परेका हुन् ।

त्यस्तै, कविलासी नगरपालिकाबाट १६०, हरिपुर नगरपालिकाबाट १५१, ब्रह्मपुरी गाउँपालिकाबाट १४८, ईश्वरपुर नगरपालिकाबाट १३१ र बरहथवा नगरपालिकाबाट १२८ उजुरी परेका छन् । जिल्लाका २० पालिकामध्ये मलंगवा, कविलासी, हरिपुर, ब्रह्मपुरी, ईश्वरपुर र बरहथवा गरी छवटा पालिकाबाट मात्रै ६० प्रतिसत भन्दा बढी उजुरी परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै, हरिपूर्वा नगरपालिकाबाट ९०, बलरा नगरपालिकाबाट ८४, चन्द्रनगर गाउँपालिकाबाट ६८, लालबन्दी नगरपालिकाबाट ६७, गोडैता नगरपालिकाबाट ४९ र कौडेना गाउँपालिकाबाट ४७ उजुरी परेका छन् । त्यसैगरी, चक्रघट्टा गाउँपालिकाबाट ३७, धनकौल गाउँपालिकाबाट ३६, बसबरिया गाउँपालिकाबाट ३३, पर्सा गाउँपालिकाबाट ३२, विष्णु गाउँपालिकाबाट २३ र रामनगर गाउँपालिकाबाट पनि २३ उजुरी परेका छन् ।

जिल्लाभरमा सबैभन्दा कम बागमती नगरपालिकाबाट पाँचवटा मात्रै उजुरी परेका छन् । जिल्ला प्रशासन कार्यालयले जेठ १४ गतेसम्म जिल्लाभरका मिटरब्याज पीडितसँग उजुरी लिएको थियो ।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले पीडितले दिएको उजुरी पालिकागत रुपमा छुट्याउने काम पूरा गरिएको उज्यालो अभियानलाई जानकारी दिए । मिटरब्याज साहुको विवरण समेत ‘एक्सल सिट’ मा इन्ट्री गरेर राखिसकिएको कार्यालयका कम्प्युटर अपरेटर मुकेश यादवले जनाए ।

एक हजार ९२० जना पीडितका उजुरी अब सम्वन्धित पालिकामै पठाएर त्यहाँ जो मिटरब्याजीविरुद्ध उजुरी परेको छ, उनीहरुलाई जनप्रतिनिधिलगायतको रोहबरमा राखेर पहिलो चरणमा छलफल गराइ पालिकाबाटै समस्याको समाधान गर्ने प्रयास गरिने सहायक प्रजिअ घिमिरेको भनाई छ । लिएको ऋण भन्दा दोब्बर÷तेब्बर बढीको कागज बनाएर मिटरब्याज साहुले घरजग्गा नै लिलाम गरी उठिवासकै स्थिति सिजर्ना गराएपछि जिल्लाका मिटरब्याज पीडितले बारम्बार आन्दोलन गर्दै आइरहेका छन् ।

अहिले आयोग नै गठन गरेर छानबिनको प्रक्रिया अघि बढ्दा न्याय पाउने आश पलाएको मिटरब्याज पीडितले बताएका छन् ।