logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हुलाकी सडक कालोपत्रेका सम्वन्धमा मलंगवामा आज फेरि छलफल


  • उज्यालो अभियान

मलंगवा – वर्षौदेखि बारम्बार बैठक तथा छलफल गर्दा पनि निर्माण पूरा हुन नसकेको सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडक कालोपत्रेका सम्वन्धमा बिहीबार फेरि सदरमुकाम मलंगवामा छलफल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा हुलाकी सडक निर्माण सम्वन्धी प्रगति समन्वय बैठक बसेको हो । बैठकले विभिन्न पाँचवटा निर्णय गरेको छ ।

मलंगवा नगरपालिकास्थित राजश्री हलदेखि पश्चिम कृष्णा चोकसम्म मलंगवा नगरपालिकाका मेयर नागेन्द्रप्रसाद यादवको उपस्थितिमा हुलाकी सडक आयोजना प्रमुखसहितको टोलीले स्थलगत रुपमा साइड क्लियर गर्ने, जेठ १४ गते आइतबार बिहान ७ बजे पर्सा गाउँपालिका र ब्रम्हपुरी गाउँपालिकास्थित भेल्हीमा हुलाकी राजमार्ग निर्माणका क्रममा रहेका विवादित स्थानहरुको समस्या समाधान गर्न जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, आयोजना प्रमुख, जनप्रतिनिधि, नागरिक समाजसहितको टोलीले विवादित स्थलमै गई समस्या समाधान गर्ने, मलंगवा नगरपालिकास्थित प्लाई उद्योगहरुले सडकमा प्लाई र काठ राखी सडकमा असुविधा पुर्याएको र मुसैलीमा राइट अफ वे क्लियर गर्ने विषयमा अनुगमन गरी समस्या समाधान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, बैठकले यही जेठ मसान्तभित्र मलंगवाको राजश्री हलदेखि टावर चौकसम्मको नाला निर्माण कार्य सम्पन्न गर्ने, हुलाकी सडक असार मसान्तभित्र कालोपत्रेसहित सम्पन्न गर्ने र निर्माण भएको हुलाकी सडकखण्डमा कृषकहरुले खेती गर्ने ट्याक्टर जुनसुकै स्थानबाट खेतमा झार्ने गर्दा सडकको कालोपत्रे भत्कने तथा सडक सुरक्षामा समेत असर पर्ने हुँदा यस कार्यलाई निरुत्साहित गर्न उचित प्रवन्धसहित सम्वन्धित स्थानीय तहले सूचना जारी गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हुलाकी सडकको सम्वन्धमा यसरी कयौं पटक बैठक बसेर यस्ता निर्णय भएपनि कार्यान्वयन नभएकोमा भने स्थानीय चिन्तित छन् । भारतसँगको सीमा दशगजा भन्दा केही माथि पर्ने सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडक कतै कालोपत्रे भएको छ भने कतै कालोपत्रे हुन बाँकी छ ।

काम नभएको ठाउँमा पानी परेको बेला हिलाम्मे र घाम लागेको बेला हिँड्नै गाह्रो पर्ने गरी धुलो उड्ने गरेको स्थानीयले गुनासो गरेका छन् ।