logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हावाहुरीले घर भत्किँदा सर्लाहीमा एक वृद्धाको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

मलगवा – सर्लाहीमा आज (बिहीबार) अपरान्ह हावाहुरीले घर भत्काउँदा एक वृद्धाको मृत्यु भएको छ ।

जिल्लाको दक्षिणी भेगस्थित ब्रह्मपुरी गाउँपालिका–२, बस्ने ६५ वर्षीया सावित्री देवी साहको आफ्नै कच्ची फुसको घरमा बसिरहेका बेला हावाहुरी आएर घर भत्काउँदा किचिएर मृत्यु भएको हो । अपरान्ह ४ः३० बजेतिर घर भत्किँदा टाउको र छातीमा चोट लागेर अचेत भएकी उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनायो ।

हावाहुरीले घर भत्काउँदा एक लाख रुपैयाँ बराबरको क्षति समेत भएको छ । सर्लाहीमा आज अपरान्ह ४ बजेपछि एक्कासी मौसम बदली भएर भीषण हावाहुरीसहित वर्षा भएको छ ।

मौसम एक्कासी बदली भएर कालोमैलो भइ तीव्र गतिमा हावाहुरी चल्दा स्थानीय केहीबेर त्रसित भएका थिए । हावाहुरीले ग्रामीण भेगमा दर्जनौं कच्ची घरका छानो तथा बेराघेरामा क्षति पुर्याएको स्थानीयले बताएका छन् । सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पंजियार थारुले हावाहुरीले भएको क्षतिको विवरण आउन बाँकी रहेको उज्यालो अभियानसँग बताए ।

यस्तै, आँप, लिची, हरियो तरकारीलगायतमा हावाहुरीले क्षति पुर्याएको छ । हावाहुरीपछि बिहीबार अपरान्हदेखि नै जिल्लाभर नै विद्युत् अवरुद्ध भएको छ ।

नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्राविधिक लालबन्दी बजार क्षेत्रमा बत्ती छाड्ने तयारी भएको उज्यालोसँग बताएका छन् । उनले फूलजोर क्षेत्रमा रुख ढलेर तारमा क्षति पुर्याएकाले त्यस क्षेत्रमा भने तत्काल बत्ती सूचारु हुन नसक्ने बताए ।

मलंगवा र बरहथवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा पनि हावाहुरीले बिजुलीको पोल तथा तारमा क्षति पुर्याउँदा बत्ती अवरुद्ध रहेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।

पानी परेपछि यस क्षेत्रमा तत्कालका लागि गर्मी भने कम भएको छ । पानी तथा हावाहुरी रोकिएर अहिले साँझ भने मौसम सफा भई उघ्रिएको छ ।