logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सोल्टी बजारमा बस्यो प्रहरी चौकी, स्थानीयको वर्षौदेखिको माग बल्ल पुरा


  • उज्यालो अभियान

प्रहरी चौकीको उद्घाटन हुँदै । (तस्बीर : श्रवण थापा/उज्यालो अभियान)

घनश्याम बलम्पाकी/सोल्टी- सर्लाहीको बागमती नगरपालिकास्थित शंकरपुर सोल्टी बजारमा अस्थाई प्रहरी चौकी उद्घाटन गरिएकोे छ ।

बुधवार बागमती नगरपालिका–१०, शंकरपुरमा अस्थाई प्रहरी चौकी सोल्टी बजारको उद्घाटन गरिएको हो । साना किसान कृषि सहकारी संस्थाको भवनमा स्थापना गरिएको अस्थाई प्रहरी चौकीको मधेश प्रदेश सभा सदस्य जवाहर लाल कुशवाहले उद्घाटन गरे । प्रदेश सभा सांसद कुशवाहले यस क्षेत्रका नागरिकले शान्ति सुरक्षा र अमनचयन महसुस गर्ने गरी सेवा प्रवाह हुने बताए ।

द्वन्द्वकालमा उठेर गएको प्रहरी चौकी लामो समय स्थापना हुन नसक्दा यस क्षेत्रमा सुरक्षा चूनौती थपिएको थियो । बागमती नगरपालिकाकै ठुलो बजार सोल्टीमा प्रहरीको उपस्थिती कमजोर बन्दा पटक पटक चोरी र लुटपाटको घटना हुने गरेका थिए । चोरी तथा लुटपाटका घटनाबाट आजित स्थानीय, ब्यापारी, राजनीतिक दल तथा जनप्रतिनिधि समेतको अथक प्रयासमा चौकी पुनः स्थापना भएको हो ।

कार्यक्रममा बोल्दै बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले नगरको सुरक्षामा अस्थाई प्रहरी चौकी शंकरपुरको महत्वपुर्ण भुमिका रहने बताए । उनले अथक प्रयास पछि प्रहरी चौकी स्थापना भएको भन्दै यसले नागरिकको जिउधनको रक्षामा कुनै कसर बाँकी नराख्ने दावी गरेका छन् ।

कार्यक्रमका अधिकांश बक्तहरुले प्रहरी र स्थानीय नागरिकको समन्वयमा मात्र सुरक्षा ब्यवस्था मजवुत हुनेमा जोड दिएका थिए । स्थानीय जंगबहादुर महतोले वर्षौको प्रतिक्षापछि सोल्टी बजारमा प्रहरी चौकी बसेपछि शान्ति सुरक्षाको महशुस भएको बताए ।

बागमती नगरपालिका–८, का वडाध्यक्ष डम्बर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्थाई प्रहरी चौकीको लागि भवन उपलब्ध गराउने सहकारी संस्थाका अध्यक्ष भुपेन्द्र मान श्रेष्ठले स्वागत मन्तब्य राखे ।यस अस्थाई प्रहरी चौकीमा तत्काल प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा ७ प्रहरी टोली तैनाथ रहने बरहथवाका डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । यो चौकी इप्रका बरहथवा मातहत रहने छ ।

बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादव, सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे, कर्णेल अभिषेक कार्की, एसपी नरेशराज सुवेदी, उप अनुसन्धान निरिक्षक सन्तोष ढुंगेल, नेकपा एमाले नेता गोकुल बस्नेत, आमजनता पार्टीका केन्द्रिय सदस्य दिपक कुमार रानाभाट लगायतको आतिथ्यता रहेको थियो ।