गोडैता – सात वर्षदेखि भाडाको घरबाट सञ्चालित सर्लाहीको गोडैता नगरपालिकाको अब भने आफ्नै प्रशासनिक भवन निर्माण हुने भएको छ ।
नगरपालिका भवनको बुधबार बिहान नगरप्रमुख देवेन्द्रकुमार यादवले शिलान्यास गरेका हुन् । गोडैता नगरपालिका ७ स्थित लखन्देही खोलाको नदी उकास ऐलानी जग्गामा नगरपालिकाको भवन निर्माण गर्न लागिएको नगरप्रमुख यादवले उज्यालो अभियानसँग बताए ।
नगरपालिका भवन निर्माणका लागि अरविन्द पार्वती जेभी नेपालगञ्जले छ करोड ३९ लाख रुपैयाँमा ठेक्का सकार गरेको छ । १८ महिनाभित्र भवन निर्माण गरिसक्ने लक्ष्य रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेशकुमार यादवले बताए ।
उनका अनुसार १८ वटा कोठाको तीन तले आधुनिक भवन निर्माण गरिने छ ।