सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल । (तस्बीर : उज्यालो अभियान)
नवलपुर – सर्लाहीमा गर्मीजन्य सङ्क्रमणका बिरामी अझै बढिरहेका छन् ।
यहाँका निजी तथा सरकारी अस्पतालमा गर्मीबाट हुने सङ्क्रमणका बिरामी उपचारका लागि आउने दर अत्यधिक बढ्न थालेको हो । गर्मी बढ्दा पखाला, अपज, बेहोस हुने, अत्यधिक टाउको दुख्ने, ज्वरो, रुघाखोकी, टाइफाइडजस्ता गर्मीजन्य सङ्क्रमणका बिरामी बढेका चिकित्सकले बताएका छन् ।
यहाँका निजी क्लिनिकमा बिरामीको अधिक चाप देखिन्छ । अधिकांश बस्तीमा पुग्दा अहिले ज्वरोका बिरामी अत्यधिक भेटिन्छन् ।
२४ सैँ घण्टा उखरमाउलो गर्मी हुँदा स–साना बालबालिका झन् धेरै बिरामी परेका स्थानीयले बताएका छन् । बालबालिकाको उपचार हुने अस्पताल तथा निजी क्लिनिकमा बिहान र साँझपख उपचार गर्न ल्याइएका बालबालिका र उनीहरुको अभिभावकको भीड नै देखिन्छ ।
निरन्तरको गर्मीले शिथिल भएका स्थानीय धमाधम बिरामी पर्न थालेका हुन् । यो बेला खानपानमा ध्यान नदिए अपज र पखालाको जोखिम हुने भएकाले स्वस्थकर र ताजा खानेकुरा खान चिकित्सकको सुझाव छ ।
प्रादेशिक अस्पताल मलङ्गवाका निमित्त मेकिडल सुपरिटेन्डेन्ट डाक्टर नवलकिशोर झाले बेलाबेलामा पानी परिरहेको र गर्मी समेत अत्यधिक रहेको अहिलेको मौसममा सङ्क्रामक रोग वर्षेनि बढ्ने गरेको बताए । डा. झाले जिल्लाकै सबैभन्दा ठूलो प्रादेशिक अस्पतालमा पनि बिरामीको चाप बढिरहेको जानकारी दिए ।