हरिवन – जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले सोमबारबाट सडक सुरक्षा सप्ताहको सुभारम्भ गरेको छ ।
शान्तिपूर्ण एवं सुरक्षित यात्राका लागि सडक सुरक्षा सप्ताह २०८० नाम दिएर अभियानको सुरुवात गरिएको हो । सोमबार बिहान पूर्व–पश्चिम राजमार्गस्थित हरिवन बजारमा नगरप्रमुख रमेश बुढाथोकी (कमल), प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी प्रमुख नरेशराज सुवेदीलगायतको उपस्थितिमा सडक सुरक्षा सप्ताहको उद्घाटन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनायो ।
विद्यार्थी, स्काउटमा आवद्ध बालबालिका, ट्राफिक प्रहरी, सुरक्षा अधिकारी, जनप्रतिनिधि, व्यापारी र सामाजिक क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिलगायतको उपस्थितिमा सचेतनामूलक र्याली निकालेर सडक सुरक्षा सप्ताहको प्रारम्भ गरिएको हो । र्यालीमा सहभागीले सवारी चलाउँदा सडकमा ध्यान केन्द्रित गरौँ, सवारी साधन चेकजाँच गरेर मात्रै चलाऔं, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔं, नियमपूर्वक सवारी चलाउ र जरिवानाबाट बचौँ, तीव्र गति जीवन क्षति जस्ता सचेतनामूलक नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराको निर्देशन अनुसार प्रारम्भ गरिएको सडक सुरक्षा सप्ताह अन्तर्गत जिल्लाका मुख्य बजार क्षेत्रमा सचेतनामूलक र्याली निकाल्ने, पर्चा पप्पलेट वितरण गर्ने, माइकिङ गर्ने र विद्यालयहरुमा पुगेर विद्यार्थीलाई ट्राफिक नियमसम्वन्धी कक्षा प्रदान गर्ने योजना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख (इन्स्पेक्टर) लेखनाथ मैनालीले उज्यालो अभियानसँग बताए ।