logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा गएराति हावाहुरी, ठूलो पानी पर्न सकेन, आज पनि गर्मी उस्तै


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी – सर्लाहीमा गएराति केहीबेर ठूलै हावाहुरी चलेको छ ।

हावाहुरीसहित कतैकतै केहीबेर हल्का वर्षा पनि भएको स्थानीयले बताएका छन् । यहाँका किसान पर्याप्त वर्षाको आशमा थिए । तर राति हावाहुरी चलेपनि ठूलो पानी पर्न सकेन । हावाहुरीले आँप, लिचीलगायतका फलफूलका चिचिला झरेका छन् । ईश्वरपुरको शंकरगन्जमा ३० कठ्ठाको व्यावसायिक केरा खेतीमा रातिको हावाले क्षति पुर्याएको छ । हावाहुरी चलेपछि रातभर नै विद्युत् अवरुद्ध भयो ।

मुख्य बजार क्षेत्रमा बिहानपखबाट बत्ती नियमित भएपनि भित्री ग्रामीण क्षेत्रमा बिजुलीका पोल तथा तारमा पुगेका क्षति मर्मतको काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । राति पानी पर्दा चिसो कम भएपनि बिहानबाट हपक्क गर्मी हुन थालिसकेको छ । यस क्षेत्रमा ८÷१० दिनदिन गर्मी असाध्य छ । गर्मीले मानिस छटपटाईरहेका छन् ।

सर्लाहीसहित आसपासका जिल्लामा गएको वर्ष असोजदेखि ठूलो पानी पर्नै सकेको छैन् । लामो समयसम्म पर्याप्त वर्षा हुन नसक्दा किसानले नैराश्यता व्यक्त गर्दै आइरहेका छन् । रातिको पानीले तत्काललाई धुलो मार्ने काम मात्रै गरेको किसान बताउँछन् । रातको हावाहुरीले गाउँघरतिर केही कच्ची घरका छानोमा क्षति पुर्याएको हाम्रा संवाददाताहरुले जनाएका छन् ।