हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–७, चिताइनमा बिहीबार २६ मुसहर परिवारलाई पाडी र बाख्रा वितरण गरिएको छ ।
पशुपालनमार्फत आयआर्जन गरी जिविकोपार्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले साउथ एशिया पार्टनशीप नेपाल (साप–नेपाल) ले चितायनका मुसहरलाई पाडी र बाख्रा सहयोग गरेको हो । २६ घर मुसहरमध्ये १० परिवारलाई पाडी र १६ परिवारलाई बाख्रा तथा पाठी वितरण गरिएको साप–नेपालका कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिए ।
हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियारको प्रमुख आतिथ्यतामा मधेशको अत्यन्तै पिछडिएको दलित समुदाय अन्तर्गत पर्ने मुसहरलाई पाडी, बाख्रा र साथमा तरकारीको बीउ प्रदान गरिएको कार्कीले बताए । डेढ वर्षदेखि मुसहर महिलाको विकासका लागि काम गर्दै आइरहेको साप–नेपालले यस प्रकारको सहयोग गरेपछि मुसहर महिला खुसी भएका छन् ।
नगरप्रमुख पजियारले साप–नेपालले समुदायमै गएर सचेतनामूलक कार्यक्रमसँगै उनीहरुको जीविकोपार्जनमा टेवा पुग्ने किसिमका सहयोग गर्दा मुसहर महिलामा परिवर्तन देखिएको बताए । मुसहर समुदाय छ महिनाजसो स–साना बालबालिकासहित इँटा उद्योगमा काम गर्न जाने गरेका छन् ।
आफूहरुले बस्तीमा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि मुसहर समुदायले गाउँघरमै बसेर आयमूलक काम गरी बालबालिकालाई विद्यालय पठाउन थालेका साप–नेपालका कार्यक्रम संयोजक कार्कीले बताए ।