हरिवन – सर्लाहीको हरिवन नगरपालिका–१, कैलाशपुरीका एक अग्नी पीडित परिवारलाई बागमती सेवा समाजले सहयोग गरेको छ ।
बुधबार बिहान आगलागीबाट घर जलेर नष्ट भएको मनिषा श्रेष्ठको परिवारलाई हरिवनस्थित सामाजिक क्षेत्रमा क्रियाशील बागमती सेवा समाज नेपालले राहत सामग्री प्रदान गरेको हो । श्रेष्ठ परिवारलाई त्रिपाल २ थान, मण्डी २ थान, प्लाष्टिकको चट्टाई २ थान, झुल २ थान, नाइलनको डोरी २ थान, सोलार बत्ती १ थान र चामल २ बोरा सहयोग गरिएको संस्थाले जनाएको छ ।
आर्थिक अवस्था निकै कमजोर रहेको ३ सन्तानकी आमा मनिषाका श्रीमानको ३ वर्षअघि रुखबाट लडेर मृत्यु भएको थियो । एकल महिलाको अहिले आगलागीले घरसमेत जलेपछि बिजोग भएको छ ।
उनको परिवारलाई बिहान हरिवन १ का वडाध्यक्ष टमबहादुर घिसिङ, संस्थाका अध्यक्ष भरतकुमार कार्की, सुकदेव कार्की, यमबहादुर भुजेल, मनु आलेलगायतको उपस्थितिमा खाद्यान्न प्रदान गरिएको हो ।