logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लक्ष्मीपुरमा ४८ मुसहर बालबालिकालाई विद्यालय भर्ना गराइयो


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपर नगरपालिका–६ लक्ष्मीपुरमा मुसहर महिला सशक्तिकरण मञ्चसँग आबद्ध रहेका मुसहर महिलाले मञ्चको अगुवाइमा समुदायका ४८ जना बालबालिकालाई बिद्यालय भर्ना गराएका छन् ।

चरम गरिबी र आर्थिक अभावको कारण अधिकांश मुसहर समुदाय गाउँबाट अन्यत्र ईटाभट्टामा श्रम गर्न जाने गर्छन । बाहिर जाँदा बालबालिका आफ्ना अभिभाबकसँगै जाने हँुदा मुसहर समुदायका अधिकांश बालबालिका पढने अबसरबाट बन्चित हुने गरेका थिए ।

अशिक्षा, गरीबी र चेतनाको अभावमा दशकौँदेखि शिक्षा जस्तो महत्वपूर्ण बिषयमा पछाडी परिरहेका मुसहर बालबालिकालाई पढाउन समुदायका महिला अग्रसर भएका छन् । हिजोको दिनमा आफूहरुले नपढेर दुःख पाएपनि अब नयाँ पुस्ताका बालबालिकाले पढ्नु अत्यावश्यक रहेको महसुस गर्दै जन्मदर्ता र विद्यालय भर्ना अभियान संचालन गरेको मुसहर महिला सशक्तिकरण मन्चकी अध्यक्ष पल्टनिया देवी माझीले बताईन् ।

अध्यक्ष माझीको अगुवाईमा लक्ष्मीपुरस्थित सार्वजनिक माध्यमिक बिद्यालयमा ४८ जनालाई बिद्यार्थी भर्ना गराइएको हो । विद्यालयमा यो वर्ष १५८ जना नयाँ विद्यार्थी भर्ना भएकोमा सबैभन्दा धेरै ४८ जना मुसहर बालबालिका भर्ना भएका प्रधानाध्यापक रामअवतार चौधरीले बताए ।

यति धेरै संख्यामा मुसहर बालबालिकाहरु पहिलो पटक बिद्यालय भर्ना भएको बताउँदै मुसहर महिला समूहलाई उनले धन्यवाद दिए । यो अभियानअन्तर्गत हरिपुरमा अहिले असन्मा, जुटपानी र चिताइनमा गरी २ सय ५० जना मुसहर बालबालिका विद्यालय भर्ना भएका साप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले बताए ।