बलरा – सर्लाहीको बलरा नगरपालिकामा आइतबार बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ ।
आगलागीबाट बलरा नगरपालिका–११, छतौनाका गाजा साहको टायलले छाएको कच्ची घर जलेर नष्ट भएको हो । आगलागीमा परेर घर, भरभित्र रहेका सरसामग्री, अन्न र नगद ३ लाख ३० हजार रुपैयाँ समेत गरी ११ लाख रुपैयाँको धनमाल जलेको पीडितले बताएका छन् ।
गाउँले र प्रहरी मिलेर आगो निभाएका थिए । तापक्रम बढेर सुक्खा हुँदा सर्लाहीमा आगलागीका घटना बढेका छन् । हिजो दिउँसो मात्रै बरहथवा नगरपालिका ११ र धनकौल गाउँपालिका ३ मा आगलागीबाट ३ वटा घर र एउटा गोठ जलेका थिए ।
अहिले सामान्य लापरवाही गर्दा पनि आगलागीको जोखिम धेरै नै हुने भएकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । आगलागी नियन्त्रणका लागि मलंगवा र हरिवन नगरपालिकासँग भएका दमकल जिल्लाभर दौडिरहेका छन् ।