हरिपुर – ग्रामीण नारी उत्थान संघले पहल गरी शनिबार सर्लाहीको हरिपुर र ईश्वरपुरमा ३० परिवार अतिविपन्नलाई बाख्रा प्रदान गरिएको छ ।
समुन्नति परियोजना अन्तर्गत संस्थाले सेभ द चिडे«नसँग समन्वय गरी हरिपुर नगरपालिका १ नख्खा टोलमा १५ र ईश्वरपुर नगरपालिका २ राइटरखोरमा १५ परिवारलाई एक–एक थान बाख्रा वितरण गरेको हो । हरिपुर १ मा वडाध्यक्ष नानीबाबु थापा, ग्रामीण नारी उत्थान संघकी अध्यक्ष गोमादेवि न्यौपानेलगायत भएर अतिविपन्न, एकल महिला र अपांगता भएका परिवारलाई जीविकोपार्जनमा टेवा पुगोस् भनी १५ वटा बाख्रा प्रदान गरिएको संस्थाले जनाएको छ ।
यस्तै, ईश्वरपुर २ मा वडा सदस्य अन्तियादेवी पासवान, ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष विष्णु चालिसे, ईश्वरपुर नगरपालिकाका पशु चिकित्सक शम्भुकुमार महतोलगायतको उपस्थितिमा आर्थिक रुपले अतिविपन्न १५ घर दलित परिवारलाई एक–एक वटा बाख्रा वितरण गरिएको संस्थाका उपाध्यक्ष चालिसेले बताए । बाख्रपालन गर्दा हुने आम्दानीबाट बालबालिकाको शिक्षा, स्वास्थ्यमा सुधार ल्याउन टेवा पुग्ने आश गरिएको छ ।
ग्रामीण नारी उत्थान संघले यसअघि राईटरखोरमा आफूले खोलेको समूहका सदस्यहरुलाई २–२ वटा बाख्रा र एउटा ब्याडे बोका प्रदान गरेको थियो । .