logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दी १० मा जग्गादातालाई सम्मान


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–१० को वडा कार्यालय, आधारभूत स्वास्थ्य केन्द्र र सिँचाई बोरिङका लागि जग्गादान गर्नुहुने व्यक्तिलाई सम्मान गरिएको छ ।

वडा कार्यालयले शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी नौ जना जग्गादातालाई सम्मान गरेको हो । वडाको सरकारी संरचना निर्माणका लागि एक करोड भन्दामाथिको जग्गा प्रदान गर्ने जग्गादातालाई सम्मान गरिएको लालबन्दी १० का वडाध्यक्ष टोपबहादुर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार वडा कार्यालयका लागि लक्ष्मण श्रेष्ठ र सुनमाया श्रेष्ठ दम्पत्तिले दुई कठ्ठा तथा बाटो निकाल्नका लागि पाँच कठ्ठा, कृष्ण प्रसाद दाहालले एक कठ्ठा एक धुर, प्रशान्त आचार्यले १० धुर, सूर्य नारायण श्रेष्ठले पनि १० धुर, गोविन्द महतले पाँच धुर, लालबहादुर गोलेले दुई धुर र दिलमाया पाख्रिनले दुई धुर जग्गा प्रदान गरेका छन् । यस्तै, आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि नेमबहादुर गोलेले एक कठ्ठा १० धुर र सिँचाई बोरिङ निर्माण गर्न श्रीलाल ब्लोनले १० धुर जग्गा प्रदान गरेका छन् ।

उनीहरु सबैलाई एकैसाथ शनिबार वडाध्यक्ष श्रेष्ठ, नगरप्रमुख बासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिनलगायतले सम्मान–पत्रबाट सम्मान गरेका हुन् । यि सम्पूर्ण जग्गा प्राप्तीका लागि समन्वय गर्ने जग्गा व्यवस्थापन समितिका अध्यक्ष शिवनिराकार श्रेष्ठ र इमरजेन्सी सेल्टरका लागि बजेट विनियोजना गराउन पहल गर्ने हेमबहादुर श्रेष्ठ (श्याम) लाई समेत सम्मान गरिएको नेपाली कांग्रेस लालबन्दी १० का वडा सभापति उदय पाख्रिनले बताए ।