फाइल तस्बीर ।
लालबन्दी – सर्लाहीमा आज झरी पर्ने र रोकिने क्रम चलिरहेको छ ।
बिहानैदेखि मौसम बद्ली भई एकैछिनमा पानी पर्ने र रोकिने क्रम चलिरहेको हो । यहाँ विगत ३÷४ दिनदेखि मौसम यस्तै भइरहेको छ । सामान्य वर्षा भइदिँदा पनि गर्मी निकै कम भएको छ ।
सर्वसाधारणले शित्तलताको महुसस गरिरहेका छन् । चैत लागेदेखि निरन्तर बढेको गर्मी अहिले पानी परेपछि कम भएको हो । पानी परेर ओसिलो हुँदा कच्ची सडकमा धुलो कम भएको छ भने वन जंगलमा लागेको डढेलो निभेको स्थानीय वासिन्दाले बताएका छन् ।
प्रदुषण कम हुँदा वातावरण सफा देखिएको छ । पानी परेर जमिन भिजेको मौकामा जिल्लाको उत्तरी भेगका किसान हिजोआज बाँझो बारी जोतेर मकै रोप्न ब्यस्त भएका छन् ।
उखुलगायत अन्य खेती लगाउने र सिँचाई सुविधा भएको दक्षिणी भेगका किसान भने उखुमा मलखाद गर्ने, चैते धान गोडमेल गर्ने र कतैकतै पाकेको मकै थन्काउने लगायतका काममा किसान व्यस्त भएका हाम्रा संवाददाताले जनाएका छन् ।
खडेरीले उजाड बनेका वन, कान्ला र बारीभित्ता तथा पाखोमा विस्तारै पालुवा पलाउँदै जाँदा पशुपालक किसानलाई राहत मिलेको छ ।