सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी – सर्लाही प्रहरीले मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई लालबन्दीबाट पक्राउ परेको छ ।
रौतहटको चन्द्रनिगाहपुरबाट दुईवटा मोटरसाइकल चोरी गरेर ल्याउने गिरोहका छ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा अधिकांश २० वर्ष समेत नपुगेका युवक छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–७ स्थित बजारमा ग्यारेज सञ्चालन गर्ने लालबन्दी ११ का २९ वर्षीय रामवरण महतो, ईश्वरपुर नगरपालिका १३ का १८ वर्षीय श्याम महतो, लालबन्दी ७ का १८ वर्षीय नजरेल नदाव, ईश्वरपुर नगरपालिका ६ का २० वर्षीय जस्मिन खान र उनका भाई १७ वर्षीय सागिर खान र सप्तरीको रुपनी गाउँपालिका १ का १९ वर्षीय शिद्धार्थ महतो रहेका छन् ।
उनीहरुको समूहले यही वैशाख १९ गते चन्द्रनिगाहपुरबाट प्रदेश २–००५ प ९४२५ र ना ४६ प ६२४७ नम्वरको मोटरसाइकल चोरी गरेको थियो । चोरी भएको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका निमित्त प्रमुख एवं प्रहरी नायब निरीक्षक (सइ) भिमराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार चन्द्रनिगाहपुरबाट मोटरसाइकल चोरी गर्ने तीन जनालाई चन्द्रनिगाहपुरमै पठाएर कारवाही अघि बढाइएको छ । यहाँ बसेर चोरीको मोटरसाइकल बेचाउने कार्यमा संलग्न तीन जनालाई लालबन्दी प्रहरीकै हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक सुवेदीले बताए ।
पछिल्लो समय मोटरसाइकल चोरीका घटना अत्यधिक वृद्धि भइरहेका छन् । प्रहरीले बेलाबेलामा चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरी कारवाही चलाउने गरेको भए पनि मोटरसाइकल चोरीका घटना रोकिएका छैनन् ।