मलंगवा – अनुचित लेनदेन अर्थात् मिटरब्याज सम्वन्धी जाँचबुझ आयोगले बुधबार सर्लाहीमा यहाँका मिटरब्याज साहु र पीडितको अवस्थाबारे प्रारम्भिक जानकारी लिएको छ ।
गएको आइतबार मधेश प्रदेशको राजधानी जनकरपुरधाममा आयोगको कार्यालय स्थापना भएपश्चात आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य उत्तमराज सुवेदी आज सर्लाही आएर मिटरब्याज पीडित, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा अधिकारी, दलका प्रतिनिधि, मिटरब्याजविरुद्धका अभियन्तालगायत अन्य सरोकारवालासँग मलंगवामा छलफल गरी प्रारम्भिक अवस्था बुझेर फर्किएका हुन् ।
छलफलमा अनुचित लेनदेन अर्थात मिटरब्याज उजुरी दर्ता र पछ्र्यौट गर्न सहायता कक्षलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने, सरकारले निवेदन दिन तोकेको मिति अर्थात आगामी वैशाख ३१ गतेभित्र पीडितको उजुरी दर्ता गराउने र सो को पछ्र्यौट गरी पीडितलाई सहयोग गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । आयोगले जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी उजुरी दिन मिटरब्याज पीडितसँग आह्वान नै गरेको छ । सर्लाहीमा जिल्ला प्रशासन कार्यालय मलङ्गवामा विद्युत् सर्ट भएर हिजो देखि नै सेवा बन्द छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विद्युत् सर्ट भएर वाइरिङ जलेपछि सेवा नै ठप्प हुँदा निवेदन लिन केही समस्या भए पनि फटाफट वाइरिङको काम सकेर सम्भव भएसम्म भोली वा नत्र पर्सीदेखि धमाधम पीडितको उजुरी लिने काम अघिबढ्ने उज्यालो अभियानसँग बताए ।
आयोग गठन हुनु पूर्व सरकारबाट केही समयअघि पनि उजुरी माग हुँदा मिटरब्याज साहुविरुद्ध सर्लाहीमा ६८० भन्दा बढी उजुरी परेका थिए । यसअघि दर्ता भएका उजुरीका सम्वन्धमा पनि आजको छलफलमा समिक्षा भएको बताइएको छ ।