पानी पर्लाजस्तो भई धुम्मिएको सर्लाहीको मौसम ।
लालबन्दी – सर्लाहीको मौसम आज पनि धुम्म छ । यस क्षेत्रमा हिजो र अस्ती केही क्षण हल्का वर्षा भएको थियो ।
आज पनि पानी पर्लाजस्तो भई मौसम धुम्मिएको हो । मौसममा आएको बद्लीसँगै यस क्षेत्रमा गर्मी कम भएको छ । दुई साता भन्दा बढीको चर्को गर्मी खेपेका स्थानीयले अहिले शित्तत हुँदा राहत महसुस गरिरहेका छन् ।
पानी परेपछि धुलो उड्न कम भएको छ भने वनमा लागेको डढेलो निभेका छन् । अब वन तथा पाखा पखेरामा पालुवा हुर्किने भन्दै पशुपालक किसान खुसी भएका छन् ।
पानी परेर जमिन भिजेको मौकामा जिल्लाको उत्तरी भेगका किसान अहिले आ–आफ्नो बारीमा मकै रोप्न ब्यस्त छन् । चुरेभेग समेत छुने जिल्लाको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाका माथिल्लो भेगमा आकाशको पानी कुरेरै खेती गरिन्छ ।
चुरेभेग र राजमार्ग आसपासका किसानले बारी जोताएर मकै रोपिरहेका हाम्रा संवाददाताहरुले जनाएका छन् । कृषि विज्ञले मकै रोप्दा घुन, कीराले नखाएको बीउ छानेर रोप्न सुझाव दिएका छन् ।