logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको उत्तरी भेगमा पानी परेपछि शित्तल, किसानलाई राहत


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी – धेरै दिनको प्रतिक्षापछि आइतबार दिउँसो पानी पर्दा सर्लाहीको उत्तरी भेगका वासिन्दाले राहत महसुस गरेका छन् ।

पानी परेर गर्मी कम भएपछि राजमार्ग आसपास र चुरेभेगका वासिन्दाले शित्तल भएको महशुस गरेका हुन् । उत्तरी भेगमा पानी परेपनि सदरमुकाम मलंगवासहित दक्षिणी भेगका हरिपूर्वा, ब्रम्हपुरी, कौडेना, गोडैता, चक्रघट्टा, बलरालगायत क्षेत्रमा भने मौसम धुम्मिएको तर पानी पर्न नसकेको त्यस क्षेत्रबाट हाम्रा संवाददाताहरुले जनाएका छन् ।

निरन्तरको गर्मी र धुलो–धुँवाले आक्रान्त बनेको जिल्लाको उत्तरी भेगको जनजीवन पानी परेपछि सामान्य बनेको छ । लालबन्दी आसपास र चुरेभेगमा केहीबेर बलेसी र भल बग्ने गरी राम्रै वर्षा भएको हो ।
आइतबारको पानीले बाँझो रहेको बारी जोतेर मकै लगाउन हुने भएको भन्दै किसान खुसी भएका छन् । लालबन्दी नगरपालिका ११ का किसान अष्टबहादुर लामाले दिउँसोको पानीपछि किसानलाई राहत मिलेको बताए ।

सर्लाहीमा हाईवेदेखि उत्तरका भेगमा आकाशे पानी कुरेरै खेतीबाली लगाउने गरिन्छ । पानी परेपछि अब वन क्षेत्रमा पालुवा थप हुर्किने भन्दै पशुपालक किसान पनि खुसी देखिएका छन् ।

डढेलो लागेर यहाँका वन क्षेत्र अहिले उदाङ्गो भएका छन् । पानी परेपछि उत्तरी भेगका कच्ची सडकमा तत्कालका लागि धुलो उड्न कम भएको हाम्रा संवाददाताहरुले जनाएका छन् ।

पानी नपरेको क्षेत्रमा पनि मौसम धुम्मिएर शित्तल नै रहेको स्थानीयले बताएका छन् ।