सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी सर्लाही सदरमुकाम मलंगवाबाट शनिबार राति लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
सीमापारी भारतबाट प्रतिवन्धित लागूऔषध लिएर आउँदै गर्दा लालबन्दी नगरपालिका–११ हीरापुर बस्ने २९ वर्षीय कृष्णकुमार महतो पक्राउ परेका हुन् । महतोलाई राति ८ बजेतिर मलंगवा नगरपालिका–९, स्थित राजदेवी मन्दिर क्षेत्रबाट प्रहरी चेकिङ टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
प्रहरीले महतोको साथबाट कोडिवेल १५८ बोतल, स्पास्मो प्रोक्सीभन प्लस ०२१ एस ट्याब्लेट २४ पत्तामा ५७६ पिस र उनले चलाइ ल्याएको ना ५३ प ९७९८ नम्वरको मोटरसाइकल समेत बरामद गरेको छ । जिल्लाको उत्तरी भेगका युवा यसरी लागूऔषध लिन र सेवन गर्न सीमापारी भारततर्फ पुग्दा प्रहरीले पक्राउ गरी कानून अनुसार कारवाही चलाउने गरेको छ ।